शुरु भयो पूर्वको सिमसारमा जलपंक्षी गणना
सुनसरी । आजदेखि पूर्वको सिमसार क्षेत्रमा जलपंक्षी गणना शुरु भएको छ ।
पाँच दिनसम्म जारी रहने जलपंक्षी गणना कोशी वर्ड सोसाइटीको आयोजनामा सुरु भएको हो । गणनाको उद्घाटन वराहक्षेत्र नगरपालिकाका उपमेयर कमला मगरले गरिन् । आज पहिलो दिन सप्तकोशी नदीको चतरा पुलबाट सुरु भएर राजावास सम्म गणना गरिएको कोशी वर्ड सोसाइटीका पूर्व अध्यक्ष तथा सल्लाहकार अनीश तिम्सिनाले जानकारी दिए ।
तीन समूहमा विभाजन भएर कोशी नदीमा गरिएको आजको गणनामा बार हेडेड बुज (खोया हाँस) २ सय भन्दा बढीको समूह र दुर्लभ पानी हास प्रजातिको ग्रेटर वाइट फ्रन्टेड वुज राजावास नजिकै एउटा फेला परेको चरा गणनामा संलग्न चराविद् अनीश तिम्सिनाले बताए ।
हिमालय नेचर, केटीके वेल्ड, जेटएसएल, जेटएनसी, केविओ, नेपाल पंक्षी समाज, कोशी टप्पु वन्यजन्तु आरक्ष, नेपाली सेनाको शुत्रुभञ्जन गुल्म र वराहक्षेत्र नगरपालिकाको सहयोगमा जलपंक्षी गणना सुरु भएको हो ।
भोलि आइतबार राजावास देखि कोशीटप्पु वन्यजन्तु आरक्ष हुँदै कोशीव्यारेज सम्म जलपंक्षी गणना हुने बताइएको छ । पूर्वका सिमसार क्षेत्रहरू बर्जुताल, उर्लाबारी, बेलबारी र तरहरा लगायतका सिमसार क्षेत्रमा ५ दिन सम्म जलपंक्षी गणना गरिने आयोजकले जनाएको छ ।
जनवरी १६ सम्ममा गणना गरिएका सबै तथ्याङ्क सार्वजनिक गर्ने गरी जलपंक्षी गणना सुरु भएको आयोजकले बताएको छ । हरेक वर्ष यही समयमा जलपंक्षी गणना गरिँदै आएको छ ।
चराविदहरु अनीश तिम्सिना, सञ्जीव आचार्य, विमल तिम्सिना, चक्र तिम्सिना, दिनेश घिमिरे, सम्झना कार्की, इन्दिरा कार्की लगायतको टोलीले जलपंक्षीको गणना गरिरहेका छन् ।