फुटपाथ व्यापारीको पीडा : ठेकेदार गैरकानूनी कर असुल्छ, नगरपालिका धपाउँछ
बिर्तामोड । विएण्डसी अस्पताल अगाडी ठेलामा मकै पोल्ने कोमल रजत आइतबार हतारमा ठेला धकेलेर मार्केट छेउमा लैजाँदैथिन । उनको ध्यान मकै खान आउने ग्राहक भन्दा नगरप्रहरीको गाडीतिर थियो । उनी नगरपालिकाको कारबाहीबाट बच्न नगरप्रहरीको गाडी नगइन्जेल ठेला भित्रतिर लैजान धपेडी गर्दैथिइन् ।
रजत जस्तै थुप्रै व्यापारीको ध्यान ग्राहकतिर भन्दा नगरप्रहरीको गाडीतिर हुन्छ । कतिबेला नगरप्रहरी आएर उठाउँछ भन्ने पीडाका बिच उनीहरुको व्यापार चलेको छ । शनिश्चरे रोडमा ठेलामा डुलाएर फलफूल बेच्ने एक व्यापारी केहि दिन अगाडी नगरप्रहरीले आफ्नो ठेला नै उठाएर लगेको बताउँदै थिए । नगरप्रहरीले उठाएर लगेको ठेला ल्याउन आफूले पाँच सय जरिवाना तिरेको उनको गुनासो थियो ।
फुटपाथ व्यापारीबाट ठेकेदारले गैरकानूनी ढंगबाट कर भने दैनिक असुल्ने गरेको छ । नगरपालिकाले दैनिक/साप्ताहिक हाट बजार विरौटी शुल्क उठाउन मेरिडियन कन्स्ट्रक्सन प्रा.लि.लाई ठेक्का दिएको छ । तर हाट बजारको अतिरिक्त फुटपाथमा व्यापार गर्ने व्यापारीसँग पनि मेरिडियनले गैर कानूनी कर असुली रहेको छ ।
मेरिडियनले त्यस्ता ठेलावालसँग दैनिक २० रुपैंया असुल्दै आएको छ । तर, नगरपालिकालाई कर तिरेपनि व्यापारीले चैनले व्यापार गर्न भने पाउँदैनन् । सडक छेउमा ठेला राखेर व्यापार गर्ने उनीहरु नगरप्रहरी आउँदा ठेला सडकबाट केही पर लगेको जस्तो गर्छन । जब नगरप्रहरी जान्छन् फेरी ठेला सडक छेउमा ल्याएर व्यापार गर्छन । भद्रपुर रोडमा खाजा व्यापार गर्ने एक जना व्यापारी नगरप्रहरी आएर गाली गर्ने गरेको बताउँछन् । नगरपालिका कर असुल्ने तर शान्तिले व्यापार गर्न नदिने उनी गुनासो गर्छन ।
मेरिडियनलाई हाट बजार लाग्ने स्थानको लागि मात्र कर उठाउन अनुमति दिइएको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिए । सडक किनारमा व्यापार गर्न नपाइने बताउँदै नगरप्रमुख शिवाकोटीले त्यसरी कर उठाउन अनुमति नदिइएको बताए । फुटपाथ पैदलयात्रीको लागि भएकाले त्यहाँ व्यापार गर्न नपाइने उनको भनाई छ । फुटपाथमा व्यापार गर्दा त्यहाँ रहेका सटरका व्यापारीलाई समेत असर गर्ने भएकाले त्यस्ता साना व्यापारीलाई कृषिथोक लगायतका स्थानमा गएर व्यापार गर्न ठाउँ दिइएको उनले बताए ।