२०८३ आश्विन १७ गते , शनिबार

हचुमासा वन अध्यक्ष पदमा ४ जनाको उम्मेदवारी, २६ गते निर्वाचन हुने

sajilo news
परिवेश मिडिया
२०७८ पौष १९ गते , सोमबार
हचुमासा वन अध्यक्ष पदमा ४ जनाको उम्मेदवारी, २६ गते निर्वाचन हुने

बिर्तामोड । झापाकै ठूलो मध्येको अर्जुनधारा १ स्थित हचुमासा सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन् ।

समूहको १३ पदका लागि ४५ जनाले उम्मेदवारी दिएका छन् । पुष २६ गते हुने चुनावका लागि आइतबार २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । समूहको अध्यक्ष पदका लागि विभिन्न राजनीतिक दल सम्वद्ध उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।

अध्यक्ष पदका लागि नेकपा एमालेको तर्फबाट नयन अधिकारी, नेपाली कांग्रेसको तर्फबाट चन्द्रप्रसाद प्रसाईं, नेकपा माओवादीको तर्फबाट विजेन्द्र एक्तेन र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट नरेन्द्रबहादुर अधिकारीले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  

समूहको एक उपाध्यक्षका लागि ३ जनाको उम्मेदवारी परेको छ । जसमा सन्तबहादुर मगर, विश्वनाथ चम्लागाई र भरतबहादुर सुब्बा छन् ।

यस्तै, एक महिला सचिव पदमा लागि प्रभा नेपाल, पुजा तिम्सिना खड्का र पदममाया मैनालीले उम्मेदवारी दिएका छन् । यस्तै, सहसचिवको पदमा ४ जनाले उम्मेदवारी दिएका छन् । उनीहरु सबै पुरुष छन् । जसमा देउकुमार नेम्बाङ, यामबहादुर राई, कुलबहादुर घिमिरे र ओमबहादुर ढकाल छन् ।

यस्तै, कोषाध्यक्ष पदमा एक महिलासहित ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा संगीता नेम्बाङ, वेदराज वाग्ले, लेखनाथ अधिकारी, रामसिंह लिम्बू र रेशबहादुर एक्तेनको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी, ४ जना महिला सदस्यका लागि ११ जना, २ जना पुरुष सदस्यका लागि १० जना, १ जना जनजातिका लागि ३ जना र १ जना दलित सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ ।

२०५४ सालमा स्थापित वन हाल ८५७ हेक्टरमा फैलिएको र ९८५ उपभोक्ता रहेको बताइएको छ ।  

सम्बन्धित समाचार