माओवादीको केन्द्रीय सदस्यमा मेचीबाट ६ जना चयन
बिर्तामोड । हालै सम्पन्न नेकपा माओवादी केन्द्रको ८औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा मेचीका ६ जना चयन भएका छन् । ताप्लेजुङबाहेक तीन जिल्लाका ३ महिला सहित ६ जना केन्द्रीय सदस्यमा चयन भएका हुन् ।
झापा, इलाम र पाँचथरबाट समान १ महिला र १ पुरुषप्रति जिल्लाका दरले नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा परेका छन् । चार जिल्लाबाट ६ जना सदस्य छानेको माओवादी केन्द्रको केन्द्रीय कमिटिमा ताप्लेजुङबाट कोहि पनि केन्द्रीय सदस्यमा परेनन् ।
केन्द्रीय कमिटिमा झापाबाट राम कार्की (पार्थ) र धर्मशीला चापागाईं चयन भएका छन् । इलामबाट धीरेन्द्र शर्मा (रमण) र लक्ष्मी न्यौपाने (सरु) केन्द्रीय सदस्य बनेका छन् ।
त्यस्तै, पाँचथरबाट इन्द्रबहादुर आङ्बो (मौसम) र सीता थेवे केन्द्रीय सदस्य बनेका हुन् ।
न्यौपानेबाहेक पाँचै जना नेता सांसदसमेत छन् ।
आङ्बो, शर्मा र थेवे प्रदेश १ का सांसद हुन् । प्रदेश १ को अर्थमन्त्रीसमेत रहेका आङ्बो आदिवासी/जनजाति समुदायका नेता हुन् । आङ्बो सो पार्टीमा प्रभावशाली युवा नेताको रूपमा स्थापित छन् । अरु चारैजना नेता खसआर्य मुलका नेता हुन् ।
झापा निर्वाचन क्षेत्र नम्बर १ बाट संघीय सांसद बनेका कार्कीलाई चुनावको समयमा ‘टुरिष्ट’ नेताको आरोप लागेको थियो । अहिले उनले आफ्नै निर्वाचन क्षेत्रमा घर बनाएका छन् । कार्कीले नेपाली कांग्रेसबाट उम्मेदवार बनेका विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए । कार्की पार्टीभित्र र बाहिर बौद्धिक नेताको रूपमा चिनिन्छन् ।
चापागाईं पार्टीभित्र हक्कि महिला नेतृको रूपमा परिचित छिन् । उनी झापाबाट प्रतिनिधित्व गर्ने समानुपातिक सङ्घीय सांसद तथा पूर्वमन्त्रीसमेत हुन् ।
न्यौपाने भने अहिलेसम्म लाभको पदमा नपुगेकी महिला नेतृ हुन् । उनी भूमिगत समयदेखि नै पार्टीको राजनीतिमा सक्रिय छन् ।
आइतबार सम्पन्न माओवादी केन्द्रको महाधिवेशनबाट २ सय ९९ सदस्यीय केन्द्रीय समितिमा २ सय ३६ जना चयन भएका छन् भने ६३ जना छान्न बाँकी छ । महाधिवेशनपछि सोमबार सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकबाट अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका छन् भने बाँकी पदाधिकारीको टुङ्गो लगाउन पुष २५ गते बैठक बस्ने निर्णय भएको छ । माओवादीमा १ जना अध्यक्ष, १ जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, १ जना महासचिव, ३ जना सचिव र १ जना कोषाध्यक्ष रहने व्यवस्था छ ।