प्रदेश १ सरकारले आफ्नै हेलिकप्टर खरिद गर्ने
विराटनगर । विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने भन्दै प्रदेश १ सरकारले हेलिकप्टर खरिद गर्ने जनाएको छ ।
विपदको बेला समयमै राहत तथा उद्धार कार्यका लागि आवश्यक पर्ने भन्दै प्रदेश १ सरकारले हेलिकप्टर खरिद गर्ने भएको हो । विपदको समयमा संघीय सरकारको भरपर्दा समयमा राहत तथा उद्धारको कार्य गर्न नसकिने भएकाले आफैँ हेलिकप्टर खरिद गर्न लागेको हो । ‘संघीय सरकारको भर पर्नुपर्दा आपतविपदमा राहत वितरण र उद्धार कार्यमा ढिलासुस्ती हुने गरेकोले प्रदेश सरकारको आफ्नै हेलिकप्टर भए विपद व्यवस्थापन कार्य प्रभावकारी बनाउन सकिने थियो,’ प्रदेश १ सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले भने ।
उनका अनुसार प्रदेश सरकारको आफ्नो हेलिकप्टर नहुँदा केही दिनअघि ताप्लेजुङमा गोठ सार्दा हिउँमा पुरिएका बाबुछोराको उद्धार गर्न पनि ढिलाइ भएको बताए । प्रदेश १ बाढी, पहिरो, आगलागी, हुरीबतास आदि विपदको उच्च जोखिममा रहेकोले उद्धार र राहतका लागि हेलिकेप्टर अति आवश्यक भएको मन्त्री कार्कीको दाबी छ ।
प्रदेश सरकारको उच्च स्तरीय विपद व्यवस्थापन समितिले उद्धार र राहतका लागि आफ्नै हेलिकप्टरको टड्कारो खाँचो रहेको भन्दै खरिद गर्न सुझाव दिइसकेको छ । ‘यसैले चाँडै मन्त्रालयबाट मन्त्रीपरिषदमा प्रस्ताव लगेर निर्णय गराएर एक थान हेलिकेप्टर खरिद गर्नेछौं’, मन्त्री कार्कीले भने । यसैगरी प्रदेश १ सरकारले प्रत्येक पालिकामा हेलिप्याड बनाउने अघिल्लो सरकारको निर्णयलाई निरन्तरता दिने भएको छ ।
मन्त्री कार्कीका अनुसार सरकारले विपद्को समयमा चन्दा मागेर राहत वितरण गर्नुपर्ने बाध्यता अन्त्य गर्न आगामी वर्षदेखि विपद कोषको रकम वृद्धि गरेर पर्याप्त बजेट नै विनियोजन गराउने बताए । उनले हरेक बर्ष बाढीमा डुवान हुने क्षेत्रका बस्तीलाई स्थानीय पालिकाको सहकार्यमा नक्साङ्कन गर्दै स्थानान्तरण गर्ने योजना सरकारले कार्यान्वयन गराउन लागिपरेको जानकारी दिए ।
प्रदेश १ सरकारले आर्थिक वर्ष २०७७ /०७८ मा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र मार्फत एकीकृत रूपले सेवा प्रदान गराउन ११ स्थानीय तहलाई ५ करोड ६७ लाख २० हजार मूल्यको ११ वटा दमकल र ६ करोड २८ लाख २७ हजार ४ सय ६० रुपैयाँ मूल्यको ११ वटा प्रहरी भ्यान प्रदान गरेको थियो ।