एमाले झापाको अधिवेशनको तयारी पूरा
बिर्तामोड । नेकपा एमाले झापाको १०औँ जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । पुस २३ र २४ गते बिर्तामोडस्थित हिमालसागर रिसोर्टमा गर्न लागिएको अधिवेशनको आवश्यक तयारी पूरा भएको पार्टीका कार्यालय सचिव शिव ढुङ्गेलले जानकारी दिए ।
नेकपा एमाले झापाका सचिवालय सदस्य समेत रहेका ढुङ्गेलले १० औं जिल्ला अधिवेशनमा खुलासभा नहुने जानकारी दिए । उनका अनुसार यस पटकको अधिवेशनमा प्रतिनिधिहरु मात्रै सहभागी हुने छन् । अधिवेशनका लागि प्रतिनिधि छनौटको काम सम्पन्न भइसकेको छ । उनले दिएको जानकारी अनुसार अधिवेशनमा ९१५ जना प्रतिनिधि सहभागी हुने छन् ।
मञ्च व्यवस्थापन, प्रतिनिधिहरुलाई दिइने सामाग्री, राजनीतिक तथा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदनको तयारी समेत पुरा भइसकेको उनको भनाई छ ।
१९ गते सम्पन्न जिल्ला कमिटीको बैठकले अधिवेशनको अध्यक्ष मण्डलमा पार्टीका स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नि खरेललाई संयोजकको जिम्मेवारी प्रदान गरेको छ । अध्यक्ष मण्डलको सदस्यहरुमा सबै केन्द्रीय सदस्यहरु, जिल्ला अध्यक्ष, सचिव र प्रदेश सदस्य खगेन्द्र नेपाल रहेका छन् । कार्यालय सचिव ढुङ्गेलका अनुसार अधिवेशन बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुने छ ।