लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो : नेपाली कांग्रेस
बिर्तामोड । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा भारतले सडक बनाइरहेको भन्दै दिएको अभिव्यक्तिको बिषयमा राजनीतिक दलहरु मौन रहेको भन्दै दबाब बढिरहेको बेला नेपाली कांग्रेसले उक्त भूभाग नेपालको भएको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै भारतीय प्रधानमन्त्री मोदीको उक्त अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको भन्दै सो क्षेत्र नेपालको भएको जनाएको हो ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्व प्रकास शर्मा र गगन थापाले जारी गरेको विज्ञप्तिमा लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमी हो र यसका सम्बन्धमा नेपाली कांग्रेुले विगत देखिनै संस्थागत रुपले आफ्नो धारणा र अडान स्पष्ट रुपमा राख्दै आएको उल्लेख गरिएको छ ।
कांग्रेसले सात वटा बुँदामा उक्त क्षेत्र नेपालको भएको उल्लेख गरेको छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग हो, नेपालको भोगाधिकार यी भूगोलमा कायम हुनुपर्दछ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट भएको बताइएको छ । कांग्रेसले कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने धारणा व्यक्त गरेको छ ।
‘नेपाल–भारत संयुक्त आयोगमा दुई देश बीचको सबै प्रश्नमा कूटनैतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमतिविपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको विषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।