मानवीय सहयोग सामाग्री लिएर सरकारी टोली अफगानिस्तान जाने
काठमाडौँ । आइतबार परराष्ट्र मन्त्रालयको नेतृत्वमा एउटा टोली अफगानिस्तान जाने भएको छ । ठूलो मानवीय संकटको सामना गरिरहेको अफगानिस्तानलाई मानवीय सहयोग सामग्री लिएर टोली काबुल जान लागेको हो
गत अगस्टमा तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा विश्वकै सबैभन्दा ठूलो मानवीय संकट उत्पन्न भएको रिपोर्टहरू सार्वजनिक भएको छ । तालिबान सत्तामा आएसँगै अन्तर्राष्ट्रिय सहयोग रोकिएकाले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएको हो ।
आइतबार राति औषधि, लत्ताकपडा र अन्य सामग्रीसहित टोली अफगानिस्तानको काबुल जाने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । नेपाली टोली काबुल अन्तराष्ट्रिय विमानस्थलमै राष्ट्रसंघीय टोलीलाई सामग्री हस्तान्तरण गरेर फकर्ने उनले बताइन् ।
अफगानिस्तानलाई के–के सामग्री सहयोगस्वरूप उपलब्ध गराइँदै छ भन्ने कुरा आइतबार बिहान ७:४५ बजे परराष्ट्रमन्त्री नारायण खड्काले पत्रकार सम्मेलनमार्फत जानकारी दिने प्रवक्ता लम्सालले जानकारी दिइन् ।
संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले यो हिउँदमा अफगानिस्तानमा भोकमरीको ठूलो समस्या देखिने बताएको छ । २ करोड भन्दा बढी जनसंख्याले भोकमरीको समस्या भोग्नुपर्ने पनि डब्लूएफपीको चेतावनी छ ।
त्यस्तै ५ वर्षमुनिका झन्डै ३२ लाख बालबालिका कुपोषणको सिकार हुनसक्ने बताइएको छ । वर्तमान खाद्य संकटलाई सम्बोधन गर्नका लागि प्रतिमहिना २२० मिलियन अमेरिकी डलर चाहिने पनि डब्लूएफपीले जनाएको छ । तत्काल पर्याप्त खाद्यान्न र औषधोपचार नपाउने हो भने करिब १० लाख बालबालिकाको मृत्यु हुन सक्ने डब्लूएफपीको चेतावनी छ ।