विहिबार दोहोरो अंकले बढ्यो नेप्से
काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बुधबार दोहोरो अंकले घटेको बजार बिहीबार ३३.०३ अंकले बढेर २९ सय ३१.३४ को बिन्दुमा पुगेको हो ।
बढेको बजारमा पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने २५ करोडले घटेको छ । आज २२९ कम्पनीको एक करोड ५९ लाख ८९ हजार ७४४ कित्ता शेयर दोस्रो बजारमा खरिद बिक्री भएको थियो । बुधबार ६ अर्ब २ करोडको शेयर खरिद बिक्री भएकोमा आज कुल कारोबार रकम ५ अर्ब ७७ करोड ३१ लाख मात्रै छ ।
बिहिबार कारोबारमा आएका १३ उपसमूह मध्ये बैकिङ र म्युचुअल फण्डबाहेक सबै उपसमूहमा हरियाली छाएको छ । आज आईएमई जनरल इन्स्योरेन्स कम्पनी बजारमा धेरै खरिद बिक्री हुने सेयरमा दरियो । आज उक्त कम्पनीको सेयर खरिद बिक्री २२ करोड भन्दा धेरै रह्यो ।
आज मैलुङ खोला र तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । समग्र बजारमा जलविद्युत कम्पनीका लगानीकर्ताले उच्च लाभ प्राप्त गरे । आईसीएफसी फाइनान्स कम्पनीको डिभेन्चरको मूल्यमा आज ४ अंकको गिरावट आएको थियो ।