गलत समाचार प्रकाशन भएको भन्दै प्रसाईद्वारा खण्डन
बिर्तामोड । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालले एक राष्ट्रियस्तरको अनलाइनमा आएको समाचारको खण्डन गरेको छ । वुधबार अस्पतालमा पत्रकार सम्मेलन गर्दै अस्पतालका सञ्चालक दुर्गा प्रसाईले समाचारमा आएजस्तो अस्पतालले महंगो शुल्कमा पिपिइ सेटको शुल्क नलिएको बताए ।
अस्पतालसँग कुनै सम्पर्क नै नगरी भ्रामक समाचार लेखिएको भन्दै प्रसाईले आक्रोश व्यक्त गरे । अस्पतालले गरेका राम्रा समाचार सञ्चार माध्यममा नआउने तर नभएका कुराहरुलाई बङ्ग्याएर समाचार आउने गरेको भन्दै दुःख व्यक्त गरे । समाचार बुझेरमात्र प्रकाशन गर्न प्रसाईले आग्रह गरे । प्रसाईले पीसीआर परीक्षण आफ्नो अस्पतालमा नहुने र कोटीहोमस्थित प्रयोगशालामा हुने र एक जनाको पीसीआर परीक्षणका लागि एउटा गाडी र एक जना कर्मचारीलाई एक दिन लाग्ने भएकाले दुई हजार रुपैँया महङ्गो नभएको तर्क पेश गरे । सञ्चारकर्मीसँग आक्रोश पोख्दै प्रसाईले गलत मनसाय भएका सञ्चारकर्मीका कारण देश गलत दिशा तर्फ गइरहेको बताए । अपराधीहरुको एउटा झुण्ड बिएण्डसी अस्पताल बन्द गराउन लागि परिरहेको प्रसाईले बताए ।
संक्रमित बिरामी भेट्न जाँदा भिजिटरले सुरक्षाका लागि पिपिइ सेट लगाउनु आफ्नै सुरक्षाका लागि आवश्यक भएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले बताए । तर, सञ्चार माध्यममा प्रकाशित समाचारमा समेटिएको बिल पुरानो भएको र अहिले राज्यले तोकेको भन्दा बढी शुल्क अस्पतालले नलिएको उनको भनाई छ ।