राप्रापाका पूर्वअध्यक्ष थापा राप्रपा नेपालको अध्यक्ष बने

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भर्खरै सम्पन्न अधिवेशनबाट अध्यक्षमा पराजित बनेका कमल थापा राप्रपा नेपालको अध्यक्ष बनेका छन् । राप्रपासँग एकिकरण हुनु अघि थापा सोहि पार्टीका अध्यक्ष थिए ।
राप्रपासँग पार्टी एकता पश्चात लाक्पा तामाङले राप्रपा नेपाल पुनर्जिवित गरेका थिए । राप्रपा नेपालका अध्यक्ष लाक्पा तामाङले आफूले नेतृत्व छाड्नु स्वाभाविक भएको बताएका छन् । विगतमा राप्रपा नेपाल कमल थापाले नै बनाएकाले आफूले नेतृत्व छाडेर उनलाई नै पार्टी जिम्मा लगाएको लाक्पाको भनाइ छ । ‘राप्रपा नेपाल स्थापित गर्ने कमल थापा नै हो’, उनले भने, ‘म त त्यखितेर साधारण एउटा धनकुटा जिल्लाको उपाध्यक्ष मात्रै थिएँ । २०७४ सालमा राप्रपासँग एकता भए पछाडि म त्यता नगइकन राप्रपा पुनर्जीवित गरेर बसेको थिएँ । यो उहाँको नासो उहाँलाई नै दिएँ ।’
उनले आफू कमल थापाकै कार्यकर्ता भएकाले उनलाई पार्टी नेतृत्व दिनु कुनै ठूलो कुरा नभएको बताए । राप्रपा नेपाल आफूले दर्ता गर्दा कमल थापाको नैतिक समर्थन रहेको उनको भनाइ छ । ‘म त उहाँको कार्यकर्ता भइहाले नि’, उनले भने । तर कमल थापाकै निर्देशनमा भने आफूले पार्टी दर्ता नगरेको उनको जिकिर छ । ‘उहाँले पार्टी दर्ता गर्न लगाउनु भएको त होइन । तर उहाँले सहयोग गरिरहनु भएको थियो । सहयोग आर्शिवाद त पाएकै हो । उहाँको नैतिक समर्थन मलाई थियो’, लाक्पाले भने ।
आफ्नो माग पार्टी नेतृत्वले नसुनेको भन्दै थापाले मंगलबार राप्रपा परित्याग गरेका थिए । थापा अन्ततः पुरानै पार्टी राप्रपा नेपालको अध्यक्ष बनेका हुन् । निर्मल निवासको षड्यन्त्रका कारण आफू अध्यक्षमा हारेको थापाले आरोप लगाउँदै आएका छन् । थापा अध्यक्ष चयन भएपछि निर्वाचन आयोगमा ६१ जनाको केन्द्रीय कमिटीसहितको जानकारी पत्र आइतबार दर्ता गराइएको तामाङले जानकारी दिए ।
नेतृत्व कमल थापालाई छाडेका तामाङ हाल केन्द्रीय सदस्यमा सीमित भएका छन् भने पछि अध्यक्षले उचित जिम्मेवारी दिनेमा आफू विश्वस्त रहेको बताए । ‘मेरो भूमिका अब अध्यक्षज्यूले जे निर्धारण गर्नुहुन्छ त्यही हुनेछ, सबै अध्यक्षज्यूको हातमा गएको छ’, तामाङले भने ।
गणतन्त्र स्वीकार, हिन्दु राष्ट्र एजेण्डा
पार्टीको एजेण्डा हिन्दु राष्ट्र, सुशासन र समृद्धि हुनेछ । तर पार्टीले गणतान्त्रिक पद्धती स्वीकार गर्नेछ । अध्यक्ष बनेपछि थापाले देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तकको सुझावलाई मध्यनजर राख्दै राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय लिइएको बताएका छन् ।
‘देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीहरूको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेका छौँ । केही समयको अलमल पछि फेरि हामी आफ्नो घर फर्केका छौँ,’ उनले आइतबार जारी गरेको विज्ञप्तिमा भनेका छन् ।
राप्रपा नेपाल २०६३ सालको राजनीतिक परिवर्तन पछि अलग पहिचान, फरक विचार र वैकल्पिक मार्गचित्र बोकेर नेपालको राष्ट्रिय राजनीतिमा उदाएको राष्ट्रवादी प्रजातान्त्रिक शक्ति भएको थापाको जिकिर छ ।
‘नेपाली जनताको विश्वास जितेर छोटो समयमा नै राप्रपा नेपाल देशको भरपर्दो शक्ति बन्न सफल भयो,’ उनले भनेका छन्, ‘तर, २०७३ सालदेखि हामीले बाटो बिरायौँ । पार्टी ठुलो बनाउने नाममा अति महत्त्वाकांक्षा र सत्ता केन्द्रित रनभुल्लमा पर्यौँ । गम्भीर राजनीतिक भुलका शृङ्खलाहरू सुरु भए । असहज र गलत प्रवृत्तिसँग सम्झौता गर्न थाल्यौँ । फलस्वरूप हामी करिब पाँच वर्ष राष्ट्रिय राजनीतिमा करिब करिब निष्क्रिय, प्रभावविहीन हुन पुग्यौँ ।’