पाँचौ झापा गोल्ड कप सञ्चालनको सम्पूर्ण तयारी पूरा
बिर्तामोड । सर्वाधिक पुरस्कार राशी मध्येको एक झापा गोल्डकपको पाँचौं संस्करण फागुन २१ गतेदेखि शुरु हुने भएको छ । नेपाल आइस पाँचौ झापा गोल्डकप सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
झापाको बिर्तामोड–३ बिर्ताबजारस्थित डोमलाल राजवंशी रंगशालामा हुने खेल शनिबार बाट शुरु हुनेछ । खेलको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी ओलीले गर्नेछन् । कोरोना महामारीका कारण दुई वर्षपछि शनिबारदेखि हुने प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको आयोजकले पत्रकार सम्मलेन गर्दै जानकारी दिएको हो ।
प्रतियोगितामा नेपालका आठसहित १० वटा टिम सहभागी हुने गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार भारतको दार्जिलिङको एम एफसी र सिक्किमको आरपी एफसी र नेपालका ‘ए’ डिभिजन क्लबहरु त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, थ्री स्टर क्लब, संकटा क्बल, झापा ११ फुटबल क्बल, एपिएफ फुटबल क्बल, जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लब सहभागी हुनेछन् ।
झापा गोल्डकपको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको ‘मस्ट भ्यालुएवल प्लेयर’ले एक थान मोटर साइकल पाउनेछ । यस्तै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई २१ हजार रुपैयाँ नगद दिइने आयोजकले जनाएको छ ।
त्यस्तै, प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई नगद नौ हजार ९९९ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । पाँचौं संस्करणको यो गोल्डकपमा चौधरी ग्रुपअन्तर्गतको नेपाल आइस बियरले मुख्य प्रायोजन गरेको छ ।
करिब १० हजार दर्शक अाँट्ने प्यारापिट निर्माण गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न एक करोड ४० लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजक समिति अध्यक्ष बस्नेतले जानकारी दिए । गोल्डकपले खेल सञ्चालन मात्र नभएर खेलाडी उत्पादनमा समेत काम गर्ने बस्नेतले बताए । झापासँगै खप्तड गोल्ड कप एकै समयमा सञ्चालन हुने भएकाले साविकको मच्छिन्द्र क्लब सहभागी हुन नसकेको बताइएको छ ।
गोल्ड कपको सदस्य करिब २ सय पुगेको भन्दै अध्यक्ष बस्नेतले खुशी व्यक्त गरे । झापालीहरुको मायाका कारण गोल्ड कप आयोजन ागर्न सकिएको भन्दै अध्यक्ष बस्नेतले यो बिर्तामोडको मात्र नभएर सम्पूर्ण झापालीको गोल्ड कप भएको बताए ।
खेलका लागि फिफाका २ र झापाका ४ जना राष्ट्रिय रेफ्रीहरु सहभागी हुने बताइएको छ । ‘हाम्रो गौरव हाम्रो मान, झापा गोल्ड कप हाम्रो शान’ भन्ने नाराका साथ सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल फागुन ३० गते हुने छ । गोल्ड कपको समापन कांग्रेस नेता कृष्ण सिटौलाले गर्ने अध्यक्ष बस्नेतले जानकारी दिए ।