२०८३ आश्विन १७ गते , शनिबार

नेपाल आइस पाँचौ झापा गोल्ड कप : सातदोबाटोको विजयी यात्रा शुरु

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन २२ गते , आईतबार
नेपाल आइस पाँचौ झापा गोल्ड कप : सातदोबाटोको विजयी यात्रा शुरु

बिर्तामोड । झापाको बिर्तामोड–३ स्थित डोमालाल रंगशालामा आजबाट शुरु नेपाल आइस पाँचौ झापा गोल्ड कपको उद्घाटन खेल सातादोबाटो युथ क्लबले जितेको छ । सातदोबाटोले जावलाखेल युथ क्लबलाई ट्राइबेकरमा ४–२ को गोल अन्तरले पराजित गरेको हो ।

निर्धारित समयमा खेल २–२ को बराबरीमा टुङ्गिएपछि ट्राइबेकरबाट खेलको निर्णय लिइएको थियो । ट्राइबेकर किकमा सातदोबाटोका गोल किपर अभिषेक बरालले सबै किक बचाएका थिए भने जावलाखेलका गोल किपरले दुई वटा किक बचाउन सकेनन् ।

खेल शुरु भएको केहि मिनेटमै सातदोबाटोको तर्फबाट विदेशी खेलाडी मार्टिन कायदे अजायीले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए  तर खेलको १२औँ मिनेटमा जावलाखेलका विदेशी खेलाडी जुनियरले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा पुर्याए । पुनः ३५औँ मिनेटमा जुनियरले अर्को गोल गर्दै जावलाखेललाई अग्रता दिलाए ।

खेलको दोस्रो हाफ शुरु भएको केहिबेरमा सातदोबाटोका खेलाडी आशिष राईले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।

उद्घाटन खेलको म्यान अफ दि म्याच विजेता टिमको गोलकिपर अभिषेक बराल घोषित भए । बरालले ९ हजार ९९९ रुपैँया प्राप्त गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले आगामी बर्षदेखि झापाका सबै पालिकाहरुले निश्चित बजेट बार्षिक रुपमा छुट्याएर सहयोग गर्न आग्रह गरे । दर्शकका लागि बर्षेनी बाँसको प्यारापिट बनाउनु परेकाले स्थायी संरचना निर्माणका लागि सबैले सहयोग गर्नु पर्ने उनले बताए । कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका अध्यक्ष केपी ओलीले डोमालाल रंगशालाको अर्को नाम नहुने बताउँदै चुनावपछि प्यारापिट बन्ने घोषणा गरे । प्रमुख अतिथी ओलीलाई खेलको सिल्भर स्पोन्सर डिलाइट फुडका प्रदेश १ का सेल्स अफिसर सागर रिजालले मायाको चिनो प्रदान गरेका थिए ।

भोली आइतबार हुने दास्रो खेल नेपाल पुलिस क्लब र संकटा क्लबबिच हुने आयोजकले जनाएको छ ।  

सम्बन्धित समाचार