घरेलु टीम झापा ११ फाइनल प्रवेश
बिर्तामोड । घरेलु टोली झापा ११ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा संकटा क्लबलाई २-० अन्तरले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको हो ।
झापाको लागि विमल घर्ती मगरले २ गोल गरे । उनले खेलको १६औँ र ५८औँ मिनेटमा गोल गरेका थिए । १६औँ मिनेटमा विमलले आन्द्रेस नियाको क्रसमा गोल गरेका हुन् । ५८औँ मिनेट विकास मेरग्लियाको क्रसमा विमलले दोस्रो गोल गरे ।
जितसँगै झापाले फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । झापा गोल्डकपको फाइनलमा आर्मी र घरेलु टोली झापाको यो चौथो भेट हो । यसअघिको फाइनलमा भएका तीनवटै भेटमा आर्मीले जित निकालेको छ ।
३० औँ मिनेटमा संकटाका यानिकले पेनाल्टी बक्सबाट गरेको प्रहार विश्वास श्रेष्ठले बचाए । ३२ औँ मिनेटमा संकटाका कप्तान रवि सिलवालको फ्रिकिक प्रहार विपक्षी गोलरक्षक कार्कीले बचाए ।
८१ औँ मिनेटमा संकटाका दिपेश आले मगरले पेनाल्टी एरियामा गरेको प्रहार विपक्षी गोलरक्षकले बचाउ गरे ।
खेलको अतिरिक्त समयमा फोडे फोफोनाले गरेको शक्तिशाली प्रहार झापाका गोलरक्षक कार्कीले बचाए ।
शनिबारको खेलको प्लेयर अफ दि म्याच विजयी टोली झापाका विमल घर्ती मगर घोषित भए । उनले नगद ९ हजार ९९९ पाए ।
उनलाई आजका प्रमुख अतिथि राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेत, अध्यक्ष विनोद बस्नेत, निवर्तमान अध्यक्ष महेन्द्रकुमार गिरीले नगद तथा ट्रफी प्रदान गरे ।
फागुन २१ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल सोमबार हुनेछ । गोल्डकपको विजेताले विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकका महासचिव गजेन्द्रबहादुर पौडेलले जनाएका छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन् । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगर २१ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् ।
तीन जना भाग्यशाली दर्शकलाई डिलाइट फुडले आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्दै आएको छ ।