२०८३ बैशाख ६ गते , आईतबार

टेलिमेडिसिन सेवा शुरु गर्दै प्रदेश १ सरकार

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र २ गते , बुधबार
टेलिमेडिसिन सेवा शुरु गर्दै प्रदेश १ सरकार

विराटनगर । प्रदेश १ सरकारले दूरचिकित्सा सेवा (टेलिमेडिसिन) तथा अनलाईन सेवा शुरु गर्ने तयारी गरेको छ । चालु आर्थिक वर्षबाटै सेवा शुरु गर्ने सरकारको योजना रहेको छ ।
प्रदेश १ स्वास्थ्य मन्त्रालयले आज विराटनगरमा दूचिकित्सा सेवाको नीति वैठकको आयोजना गरि सो जानकारी दिएको हो । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्वोले दुर्गम क्षेत्रका लक्षित वर्गलाई सेवा उपलव्ध गराउन दुर चिकित्सा सेवा प्रभावकारी हुने बताए । उनले चालु आर्थिक वर्षभित्रै सेवा सञ्चालन गरी १४ वटै जिल्ला अस्पतालहरुलाई जोड्न सुझाव दिए ।
स्वास्थ्यमन्त्री जयराम यादवले स्वास्थ्य सेवालाई सवल बनाएमा संघीयताको सफल कार्यान्वयन एवं स्थायित्व कायम हुने बताए । स्वास्थ्य सेवाको अनुभूति प्रदेशवासीले गर्नेगरि सरकारले काम अघि बढाएको उनले बताए । उनले टेलिमेडिसिन सेवा चाँडै शुरु गर्ने गरि मन्त्रालयले काम गरिरहेको बताए ।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहाल, स्वास्थ्य मन्त्रालयका सचिव डा. अनुज भट्टचन, स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. मिङ्मार ग्याल्जेन शेर्पा, प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतलगायतले दूरचिकित्सा सञ्चालनबाट प्रदेशको स्वास्थ्य क्षेत्रले गति लिने बताए ।
दूरचिकित्सा सेवा सञ्चालनका लागि संघीय सरकारले चालु आर्थिक वर्षका लागि ५० लाख बजेट पठाएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख बस्नेत जानकारी दिए । उनले प्रादेशिक अस्पतालबाट सेवा सुरु गर्नेगरि छलफल अघि बढेको जानकारी दिए ।

सम्बन्धित समाचार