पूर्व राजा ज्ञानेन्द्र परिवारसहित झापामा
बिर्तामोड । पूर्व राजा ज्ञानेन्द्र शाह सपरिवार झापा आइपुगेका छन् । शाह शुक्रबार बुद्ध एयरको जहाजमार्फत चन्द्रगढी विमानस्थल हुँदै झापा आएका हुन् ।
पूर्व राजा शाह श्रीमती कोमल र छोरीसहित झापा आएका छन् । स्थानीय तहको निर्वाचन नजिकिएसँगै एक महिना बस्ने गरी शाह परिवार झापा आएका हुन् । झापा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको जिल्ला हो । महाधिवेशनमा पराजित भएपछि निर्मल निवासको विरोध गर्दै कमल थापा राप्रपाबाट अलग भएर राप्रपा नेपालका अध्यक्ष बनेका छन् । चुनावको मुखमा शाह झापा आउनुलाई महत्वका साथ हेरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेण्डामार्फत मुलुकमा राजतन्त्र फर्काएर शाह पुनः राजसंस्थामा फर्कन चाहन्छन् ।
शाह चन्द्रगढी विमानस्थलमा ओर्लिएसँगै समर्थकहरुले स्वागत गर्नुका साथै ‘राजा आउ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ जस्ता नारा लगाएका थिए । झापा रहँदा शाहले धार्मिकस्थलमा पूजापाठ गर्नुका साथै सामाजिक व्यक्तिहरुसँग भेटघाट गर्ने बताइएको छ । शाह दमकको हिमालयन टी गार्डेनभित्रको निवासमा रहने स्वकीय सचिव सागर तिम्सिनाले बताए ।