चुनावी चर्चा : को बन्ला भद्रपुरको मेयर ?
स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै उम्मेद्वारको बिषयमा विभिन्न चर्चा शुरु भएको छ । भावी नेतृत्वको बिषयमा राजनीतिक तथा नागरिक वृत्तमा यतिबेला उम्मेदवारको नामलाई लिएर अनेकन् अड्कलबाजी शुरु भएको छ । प्रमुख राजनीतिक दलले कसलाई टिकट दिन्छन् भन्ने चर्चा शुरु भइसकेको छ । दलहरुले आफूखुशी उम्मेद्वार घोषणा नगर्न सुझाए पनि नेता–कार्यकर्ता पंक्तिमा उम्मेदवारका विषयमा तीव्र बहस शुरु भएको हो । स्थानीय नेताहरु पनि यो निर्वाचनमा आफूले टिकट पाउनुपर्ने आधारसहित पार्टी कमिटीमा लविङसँगै नेता रिझाउन थालिसकेका छन् ।
प्रमुख राजनीतिक दलले यस पटकको निर्वाचनमा केही स्थानीय तहलाई पार्टीको प्रतिष्ठासँग जोडेर हेर्ने गरेका छन् । जसमा झापाको भद्रपुर नगरपालिका पनि पर्छ । नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् यसै क्षेत्रका सांसद राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्रमा पर्ने यस नगरपालिकामा त्रिपक्षीय दावी देखिँदैछ ।
कांग्रेस नेता सिटौलाको गृहनगरसमेत भएका कारण कांग्रेसले यो पटक भद्रपुरमा स्थानीय सरकारको नेतृत्व लिने कसरत सहित उम्मेदवारको खोजी गरिरहेको छ । नेकपा माओवादी केन्द्रले पनि भद्रपुरमा आफ्नो पार्टी संगठन सदृृढ मानेर यसपटक यस नगरको नेतृत्व लिने लक्ष्यसहित चुनावी अभियान शुरु गरेको छ भने नेकपा एमाले अघिल्लो निर्वाचनको विरासतलाई जोगाउने प्रयत्नमा छ ।
अहिलेसम्म कुनै पनि राजनीतिक दलले उम्मेदवार घोषणा गरेका छैनन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादीको गठबन्धन भयो भने एक्लो एमालेबीच प्रतिष्पर्धा हुने देखिन्छ । गठबन्धन हँुदा भद्रपुरमा कांग्रेस वा माओवादी केन्द्र कसले कोटा पाउँछ ? भन्ने चर्चापनि चुलिएको छ । यद्यपि दुबै दलले भद्रपुर आफूहरुले पाउनुपर्ने दावी गरिरहेका छन् ।
कांग्रेसको भागमा नगर–प्रमुखको टिकट परे गणेश पोखरेल या टीकाराज ढकालमध्ये उम्मेदवार हुने बुझिएको छ । गठबन्धन हुँदा माओवादी केन्द्रको भागमा भद्रपुर पर्याे भने शिवकुमार राजभण्डारी वा नरेश सञ्जेलले टिकट पाउने चर्चा चल्दैछ । यस अघिको निर्वाचनमा पनि साबिक दलबाटै प्रतिष्पर्धी रहेका पोखरेलले ७२१५, राजभण्डारीले ४१३४, राप्रपाका नवराज पनेरूले २८२२ मत पाएका थिए भने एमालेका जीवनकुमार श्रेष्ठ ११०४२ मतका साथ निर्वाचित भएका थिए ।
यसपटक भने अघिल्लो खेपको विरासत जोगाउन भद्रपुरमा नेकपा एमालेले यामबहादुर श्रेष्ठ, असारु राजवंशी र जीवन श्रेष्ठमध्ये एकलाई टिकट दिने चर्चा भइरहँदा तुलनात्मक रूपमा मतदाताले रुचाएका पात्रमा पुराना र शालीन कम्युनिष्ट नेता भएका कारण एमालेबाट यामबहादुर श्रेष्ठले टिकट पाउने सम्भावना बलियो रहेको बुझिएको छ । २०२७ सालमा पार्टीको निर्देशन अनुरुप संगठन विस्तारका क्रममा नक्सलवादी आन्दोलनलाई सफल पार्न झापा आइपुगेका यामबहादुर एक सरल र निष्ठावान नेताका रुपमा परिचित छन् ।
आज उनको उम्मेदवारीको चर्चा भइरहँदा विगतमा उनले पार्टी जीवनमा लामो समयसम्म गरेको योगदानको कदर हुने आधार रहेको बताउने गरिन्छ । कम्युनिष्ट पार्टी दरिलो बनेपछि मात्र जीवन र घरपरिवारका बारेमा सोच्न थालेको उनको विगत छ । झापा विद्रोहको समयमा यामबहादुरको घर पार्टी सेल्टर जस्तै थियो । नेता–कार्यकर्ता त्यहीँ बस्थे र योजनाहरु बनाउने काम गर्थे । राजनीति जीविकाको माध्यम अथवा पेशा हुनु हुँदैन भन्ने मान्यता राख्ने यामबहादुर श्रेष्ठले सो मान्यता अनुरुप पार्टी संगठनको कामसँगै कृषिजन्य उत्पादनमा पनि जोडिनुपर्छ भनेर २०३२ सालमा सानो चामल मिलबाट व्यवसाय थालेका हुन् ।
आजपर्यन्त त्यही उद्यम गरिरहेका उनी व्यवसायलाई विस्तार गर्दै राजनीतिक रुपमा क्रियाशील पाइन्छन् । हाल झापा उद्योग संघका जिल्ला अध्यक्ष उनी एमाले १ नं प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा पनि छन् । २०३९ सालबाट भद्रपुरमा स्थायी बसोबास गरिरहेका यामबहादुर यहाँका समस्याहरू बारे भलिभाँती जानकार छन् । त्यसैले पनि उनी यसपटक नगरको नेतृत्वमा रहेर भद्रपुरको विकासमा हातेमालो गर्न चाहिरहेका छन् ।
यसै सन्दर्भमा नगर–प्रमुखमा तपाईंको उम्मेदवारीको चर्चा छ नि ? भन्ने हाम्रो जिज्ञासामा उनले भने– ‘मैले विभिन्न जिल्लाका विभिन्न संघ–संस्थाको नेतृत्व गर्ने क्रममा यस नगरका समस्या नजिकबाट नियालेको छु, ती समस्याहरू समाधान गर्दै हाम्रो भद्रपुरलाई राम्रो भद्रपुर बनाउन मसँग केही योजना छन् । त्यसैले यदि पार्टीले टिकट दिएको खण्डमा म तम्तयार छु ।’
मुलुकमा राजनीतिक क्रान्तिको चरण पूरा भएकाले अब आर्थिक क्रान्ति गर्नुपर्ने उनको तर्क छ । २०४६ सालभन्दा अघि सञ्चालित उद्योग बन्द भएपछि नेपाली युवाले रोजगारीका लागि विदेशिनु पर्ने अवस्था आएको बताउने उनी भन्छन्– ‘भद्रपुरलाई २०२८–०२९ सालको जस्तो उद्योगहरूको नगरका रूपमा चलायमान बनाउन सम्भाव्य उद्योगहरूको स्थापना गर्दै रोजगारीको सिर्जना गर्नु आजको समयको माग पनि हो ।’
स्थानीय सरकारबाट हालसम्म रोजगारी सिर्जनाको क्षेत्रमा खासै पहल नभएको बताउँदै एक सफल उद्योगीका रूपमा स्थापित उनको सोच ‘आफू नगर प्रमुख भएमा औद्योगिक ग्रामको अवधारणा अनुरुप भद्रपुरको मोमेन्टो लगायत अन्य रोजगारमूलक उद्योग सञ्चालनका लागि पहल गर्ने’ रहेको सुनाए । तेस्रो मुलुकसँग नजिकको नाका भद्रपुरमा मेची पुल बनेपनि यहाँ निर्यातजन्य उद्योगको स्थापना हुन नसक्दा भद्रपुरको पहिचान र शाख बढ्न नसकेको उनको ठहर छ । ‘हामीले आयात क्रमशः घटाएर निर्यात बढाउन नसकेसम्म भद्रपुरको विकास अपेक्षाकृत रुपमा हुन सक्दैन । कुनै बेलाको औद्योगिक एवम् व्यापारिक शहरको रूपमा परिचित भद्रपुरको गिरेको शाख फर्काउन ढिलो भइसकेको छ,’ उद्योगपति यामबहादुर भन्छन् ।
एक सफल र सक्षम व्यवसायीका रूपमा स्थापित श्रेष्ठ राजनीतिलाई पेशा नबनाउने मान्यता राख्ने र राजनीतिक रूपमा पनि स्वच्छ छवि भएकाले उनको उम्मेदवारी तुलनात्मक रूपमा वजनदार एवम् भद्रपुर नगरका हकमा उपयुक्त हुने प्राज्ञिक कम्युनिष्ट नेता चित्रबहादुर श्रेष्ठ बताउँछन् । जीविकाको सवालमा आत्मनिर्भर र निष्ठावान भएका कारण पनि यामबहादुर श्रेष्ठ आम मतदाताको रोजाइमा पर्नसक्ने आँकलन गर्न थालिएको छ ।