२०८३ बैशाख ६ गते , आईतबार

एकजुट भएर चुनावमा लाग्न कार्यकर्तालाई माओवादी नेताको आग्रह

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र १८ गते , शुक्रबार
एकजुट भएर चुनावमा लाग्न कार्यकर्तालाई माओवादी नेताको आग्रह

बिर्तामोड । नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुलाई एकजुट भएर चुनावी गतिविधीमा लाग्न नेताहरुले आग्रह गरेका छन् । शुक्रबार झापाको बिर्तामोडमा आयोजित नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटिको विस्तारित वैठक एवम् प्रशिक्षण कार्यक्रममा बोल्दै नेताहरुले संकल्पका साथ चुनावी गतिविधीमा संलग्न हुन कार्यकर्तालाई आग्रह गरेका हुन् ।

स्थानीय तह निर्वाचन तथा संगठन सुदृढीकरण अभियानअन्तर्गत आयोजित कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा सांसद धर्मशिला चापागाईले संविधान कार्यान्वयनका लागि आगामी चुनावमा माओवादी केन्द्रलाई जिताउनु पर्ने बताईन् । उनले सबै नेता तथा कार्यकर्ताहरुलाई पार्टीको आन्तरिक अन्तरविरोधहरुलाई बिर्सिएर पार्टीलाई जिताउने संकल्पका साथ चुनावमा लाग्न आग्रह गरिन् । हिजो माओवादीलाई संकटकाल लगाएर ठेगान लगाउन खोज्ने दलको नेतृत्वमा संविधान कार्यान्वयन नहुने बताउँदै नेतृ चापागाईले संविधानको पूर्ण कार्यान्वयनका लागि माओवादीले जित्नुपर्ने धारणा व्यक्त गरिन् ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रदेश १ का कृषि तथा पशुपंछि मन्त्री झलकसिं दर्लामी (सन्देश)ले प्रत्येक नागरिक समक्ष मतदाता शिक्षा पुर्याउन आफ्ना कार्यकर्तालाई आग्रह गर्दै माओवादी केन्द्रको मात्र नभएर गठबन्धन कै उम्मेदवारलाई विजयी बनाउने अभियानमा लाग्न आग्रह गरे । नेता दर्लामीले आफूहरु सच्चिएर आएको अनुभूति दिलाउँदै अजुनदृष्टिका साथ चुनावी अभियानमा लाग्न सबै नेता कार्यकर्तालाई अनुरोध गरे ।

त्यस्तै, पार्टीका जिल्ला समन्वय समिति झापाका अध्यक्ष अग्नी आचार्य (राजु)ले ३५ सयको बीमा गराएर ९६ हजारको व्यापार माओवादीले नगरेको, कमिसनको चक्करमा आफ्ना मान्छेलाई सेटिङ्मा कोरिया पठाउने कार्यमा माओवादी संलग्न नभएको भन्दै स्वच्छ छवि भएका आफ्ना पार्टीका उम्मेदवारहरुलाई चुनावमा जिताउनु पर्ने बताए ।

बिर्तामोडमा माओवादी केन्द्रका झापा सहइन्चार्ज सिपी कडरियाको संयोजकत्वमा ५०१ सदस्यीय मुल निर्वाचन परिचालन कमिटि र १० वटै वडामा विभिन्न समितिहरुको गठन गरि नेताहरुलाई जिम्मेवारी तोकिएको छ । कार्यक्रममा बोल्दै निर्वाचन परिचालन समिति बिर्तामोड संयोजक कडरियाले सबै नेता तथा कार्यकर्ताहरुलाई दिइएको जिम्मेवारी पूरा गर्न आग्रह गरे ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी बिर्तामोडका करिब ५० जनाले माओवादीमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई कार्यक्रमका प्रमुख अतिथी झापामोरङसुनसरी कमाण्डर सावित्रीकुमार काफ्ले (समर) लगायत अतिथीहरुले स्वागत गरेका थिए । 

बिर्तामोडको सिटी सेन्टरमा नगर कमिटि अध्यक्ष मोहन सुब्बाको अध्यक्षतामा आयोजित कार्यक्रममा बिर्तामोड नगर क्षेत्रका कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।

 

सम्बन्धित समाचार