सुपारी आयात रोक्न निर्देशन
काठमाडौँ । विदेशबाट सुपारी आयातको इजाजत रोक्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयात इजाजतपत्र नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।
समितिको बुधबारको बैठकपछि सभापति विमलप्रसाद श्रीवास्तवले सुपारी आयातमा रोक लगाउन निर्देशन दिएका हुन् । विदेशी मुद्राको सञ्चिती कम रहेको अवस्थामा सुपारीजस्ता वस्तु आयातमा रोक लगाउनुपर्ने उनको भनाइ थियो । ‘सुपारी आयातको इजाजत नदिन सरकार, उद्योग र वाणिज्य विभागलाई निर्देशन छ,’ उनले भने ।
सभापति श्रीवास्तवले आयातको अवस्था अध्ययन गर्न समिति विभिन्न ठाउँमा जाने पनि बताए । उनले संसदीय समिति अनुगमनका लागि भैरहवा, दाङ र नेपालगञ्जलगायतका जिल्लामा जान लागेको जानकारी दिए । समिति सदस्यहरूले गुट्खा, सुर्तीजन्य पदार्थमा प्रयोग हुने सुपारी आयातमा रोक लगाउनुपर्ने बताएका थिए ।