एमाले मेचीनगर सचिवालय सदस्य खड्काद्वारा पार्टी परित्यागको घोषणा
काकरभिट्टा । नेकपा एमाले मेचीनगर कमिटिका सचिवालय सदस्य एवम् वडा नम्बर १० का इञ्चार्ज प्रकाश खड्काले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । खड्काले सामाजिक सञ्जालमा नेकपा एमालेको गतिविधीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
‘आजबाट नेकपा एमाले पार्टी छोडियो,’ खड्काले लेखेका छन्,‘मलाई साथ सहयोग गर्ने सम्पूर्ण सच्चा कम्युनिष्टहरु लगायत यस क्षेत्रका जनताको मााझमा सदैव सक्रियताका साथ रहनेछु ।’ उनले अबको राजनैतिक जिवनलाई अझ सक्रियतापूर्वक सामाजिक काममा लगाउने उल्लेख गरेका छन् । सहि मुल्याङ्कन र न्यायसहितको नेतृत्व पुस्तान्तरण गर्न नसक्ने नेताहरु रहेको पार्टीमा रहनुको कुनै अर्थ छैन भन्दै खड्काले नेकपा एमाले परित्याग गरेका हुन् ।
२०५३ सालबाट राजनीतिमा प्रवेश गरेका खड्का २०५९ सालमा धुलाबारी क्याम्पसका निर्वाचित स्ववियु उपसभापति हुन् । नेकपा एमाले र नेकपा दुवैमा करिब ३ कार्यकाल पार्टीको वडाध्यक्ष भइ सकेका खड्का मेचीनगरमा स्थापित युवा नेताको रुपमा परिचित छन् । अनुभवी राजनीतिकर्मीका रुपमा रहेका सामाजिक अभियान्ता खड्का नेकपा एमालेले देश र जनताको पक्षमा काम गर्न नसकेको भन्दै पार्टीप्रति रुष्ट बनेका थिए । कार्यकर्तालाई दिइने जिम्मेवारी र टिकट लगायतमा लेनदेन र व्यवसायीक साँठगाँठ व्याप्त रहेकाले एमाले परित्याग गरेको खड्काले बताएका छन् । स्वच्छ छवि भएका इमान्दार नेता कार्यकर्ता पाखा लाग्दै गएको र पैसाको आडमा पार्टी सत्ता कब्जा गर्ने विकृतिले पार्टीमा घर गरेकाले एमालेमा बद्नाम हुन नसक्नेसमेत उनले बताएका छन् । एमाले कम्युनिष्ट पार्टी नभई ‘बा’वादी गिरोहमा परिणत हुँदै गएको भन्दै जिल्लाभरिका सबै इमान्दार युवाहरुसहित चाँडै खड्का माओवादी केन्द्रमा प्रवेश गर्ने तयारीमा रहेको बुझिएको छ ।