एमाले उम्मेदवार छनौटमा नेतृत्व अनुकूल प्रक्रिया अवलम्बन
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले उम्मेदवार चयन प्रक्रियामा छ । एमालेले बिर्तामोड नगरपालिकाका अधिकांश वडामा उम्मेदवार चयनको प्रक्रिया लगभग सकिसकेको छ । उम्मेदवार चयन प्रक्रियामा एमालेले नेतृत्व अनुकूल छनौट प्रक्रिया अवलम्बन गरेको पाइएको छ । पार्टीले कुनै वडामा आन्तरिक चुनावी प्रक्रिया नै गराएर उम्मेदवारको सर्ट लिष्ट गरेको छ भने कतै सहमतिको नाममा आकांक्षीको भावना विपरित निर्णय गरेको पाइएको हो । एमालेले बिर्तामोडको १, २, ३, ४, ७, ८ र ९ नम्बर वडामा चुनावी प्रक्रियाबाट र वडा नम्बर ५, ६ र १० मा सहमतिबाट उम्मेदवार सूची तयार गरेको छ ।
स्थानीय तहमा वडाध्यक्ष पदका लागि वर्तमान जनप्रतिनिधीहरु नै बढी आकांक्षी देखिएका छन् । पुरानासँगै नयाँ आकांक्षीकोपनि उत्तिकै चाहना छ । एमालेले एक भन्दा धेरै उम्मेदवारको आकांक्षी भएको वडामा आन्तरिक जनवाद भन्दै चुनाव गरेर उम्मेदवारको प्राथमिकीकरण सूची तयार गरेको छ । तर वडा नम्बर ५ मा उम्मेदवार मनोनयन गराएका सात जना आकांक्षी हुँदाहुँदैपनि मनोनयन नै नगराएका वर्तमान वडाध्यक्ष राजेन्द्र लिङ्देनलाई नै पुनः वडाध्यक्षको उम्मेदवारको सूचीमा राखेको छ । लिङ्देनले आफ्नो स्वास्थ्य र पारिवारिक कारण देखाउँदै आफुले नदोहोर्याउने र अरुलाई पालो दिने बताएका थिए । सञ्चारकर्मीहरुसँग पनि लिङ्देनले आफुले अर्को कार्यकाल नदोहोर्याउने बताउँदै आएका थिए । उनी वडाको उम्मेदवारी छनौट सहजीकरण समितिमा समेत रहेको बुझिएको छ ।
वडाध्यक्ष पदका लागि ५ नम्बर वडामा ७ जनाले मनोनयन गराएका थिए । उनीहरु मध्ये केहि वर्तमान जनप्रतिनिधी थिए भने केहि नयाँ अनुहार थिए । तर, सहमति कायम गर्नुपर्छ भन्ने बिषय उठेपछि तीन जनाले आफ्नो दावी छाडेका थिए । पार्टीले गोविन्द न्यौपाने, भुपेस मर्डी र कृष्ण पौडेल रहेको निर्वाचन समितिसमेत बनाएको थियो । चार जना आकांक्षीले अन्तिम अवस्थासम्मपनि अडान नछाडेपछि चुनावी प्रक्रिया अवलम्बन गर्नुको साटो मनोनयन नै नगराएका लिङ्देनको नाम वडाध्यक्ष पदका लागि सिफारिस गरेपछि कार्यकर्ताबिच खैलाबैला मच्चिएको छ । चुनावी प्रक्रिया अवलम्बन नगरी नेतृत्वले सहमतिको नाममा योग्य उम्मेदवारलाई पछि पारेको भन्दै नेता कार्यकर्ता नेतृत्वसँग रुष्ट बनेको बुझिएको छ ।
५ नम्बर वडाका पार्टीका पूर्व वडाध्यक्ष तथा हाल वडाध्यक्ष पदमा मनोनयन दर्ता गराएका ढाँचाराज (डिआर) कडरिया उम्मेदवार चयन प्रक्रियाप्रति असन्तुष्ट देखिएका छन् । ‘राजेन्द्र दाईले पटक पटक म उठ्दिन भन्नु भएको थियो,’ उनले भने,‘तर, मनोनयन नै नगरी बसेको अवस्थामा उहाँको नाम प्रस्ताव हुँदा मौन बस्नु भयो ।’ चार जना आकांक्षी भइसकेपछि समितिले निर्वाचन प्रक्रियामा गएको भए विवादरहित उम्मेदवार चयन प्रक्रिया अघि बढ्ने उनको धारणा छ ।
त्यस्तै, एमालेका वडा नम्बर ५ का पार्टी इञ्चार्ज निरज ओली सचिवालयको बैठकले पार्टीको केन्द्रिय नीति अनुसार उम्मेदवारको संख्या बढी भएमा निर्वाचन प्रक्रियामा जाने निर्णय भएको बताउँछन् । राजेन्द्र लिङ्देनको सल्लाह अनुसार नै वडाध्यक्ष पदमा लागि प्रति व्यक्ति पाँच हजार रुपैँया तिरेर आफूहरुले मनोनयन दर्ता गराएको ओलीले बताए । अन्य वडामा निर्वाचन गराउने पार्टीले आफ्नो वडामा दबाबमा उम्मेदवार टुङ्गो लगाउन खोजेको उनको गुनासो छ । सहमति भएपनि निर्वाचन भएपनि मनोनयन दर्ता गराउनेहरु मध्येबाटै हुनुपर्नेमा उनको जोड छ । पार्टीमा लागेर निरन्तर काम गरिरहँदापनि आफुहरुलाई पार्टीले कमजोर ठानेको महशुस गरेको उनी गुनासो गर्छन ।
यता वडाध्यक्ष पदका लागि सिफारिस सूचीमा परेका लिङ्देन उम्मेदवार टुङ्गो लागि नसकेको बताउँछन् । अरु आकांक्षीमा सहमति जुटे आफु अगाडी नसर्ने लिङ्देनको भनाई छ । तर, वडाध्यक्षमा पद नै खाली राख्ने अवस्था आउन नहुने लिङ्देन बताउँछन् । उनले नेतृत्वसँग छलफल चलिरहेकाले ५ नम्बर वडाको उम्मेदवार चयन प्रक्रिया आज (आइतबार) टुङ्गो लाग्ने बताए । नेकपा एमालेका झापा अध्यक्ष दीपक कार्कीले शनिवार विज्ञप्ति नै निकालेर उम्मेदवार टुङ्गो लागिसकेको ढंगबाट सामाजिक संजालमा गरिएको प्रचार आधिकारीक नभएको भन्दै पार्टी उम्मेदवार चयन कै प्रक्रियामा रहेको र चाँडै टुङ्गो लाग्ने हुँदा धैर्य गर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।