२०८३ बैशाख ६ गते , आईतबार

गठबन्धन दलसँग राप्रपाले तालमेल गर्ने भएपछि दमकमा एमालेलाई सकस

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख ४ गते , आईतबार
गठबन्धन दलसँग राप्रपाले तालमेल गर्ने भएपछि दमकमा एमालेलाई सकस

बिर्तामोड । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गरेर झापाको दमकमा जित हासिल गर्दै आएको नेकपा एमालेलाई स्थानीय तह निर्वाचनमा भने निकै सकस देखिएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राप्रपाले गठबन्धन दलसँग तालमेल गर्ने भएपछि एमालेलाई चुनौती देखिएको हो ।

राप्रपालाई दमक नगरपालिकाको उपप्रमुख पद दिएर तालमेल गर्ने गरी एमालेले छलफल चलाएको थियो । तर, दमकमा उपप्रमुख पद लिन राप्रपा अनिच्छुक देखिएपछि एमालेसँगको छलफल टुङ्गिएको हो । राप्रपा प्रदेश १ का अध्यक्ष राम थापा केहि दिन अघि इटहरीमा भएको गठबन्धन दलको बैठकमा सहभागी भएर तालमेल गरेर जाने बिषयमा लिखित सहमति भएसँगै एमालेसँगको छलफल टुङ्गिएको हो । राप्रपासँग तालमेल नहुने भएपछि एमालेलाई दमकमा जित्न ठूलो चुनौती देखिएको छ ।

बैठकमा भएको निर्णयबारे जानकारी दिँदै थापाले भने, ‘चुनावमा आवश्यकता अनुसार तालमेल गर्ने निर्णय भएको छ । तालमेल गरेर जाने भन्ने निर्णयको माइन्युटमा हस्ताक्षर पनि गरेको छु । गठबन्धन भनेको अनिवार्य हुने भयो, तालमेल भनेको आवश्यक ठाउँमा हुने भयो । हाम्रो चाहिँ सम्भव भएसम्म पाँच दलीय गठबन्धनसँग तालमेल हुने भनिएको छ । गठबन्धनमा राप्रपासँगै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चपनि सहभागी हुने भएको छ ।

राम थापा गठबन्धन दलको बैठकमा सहभागी भएर राप्रपाले पनि तालमेल गर्ने निर्णय गरेको दुई दिन नवित्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नुवाकोटमा आयोजित कार्यक्रममा राप्रपाका उम्मेद्वारलाई भ्रष्ट मानिसको संज्ञा दिए । स्थानीय तह निर्वाचनमा दमकमा जित्न नसकिने तर्फ संकेत गर्दै ओलीले संसदमा बहुमत ल्याएर भएपनि जनताको अपेक्षा पूरा गर्ने बताए । कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘मेरै निर्वाचन क्षेत्रमा, मेरै नगरपालिकामा राप्रपाका उम्मेदवारलाई काँग्रेस, माओवादीलगायतले सबैको साझा उम्मेदवार बनाउँदै छन् । यदि स्थानीय तहमा हामीले बहुमत ल्याउन सकेनौँ, स्थानीय तहमा बेठीक पार्टीका बेठीक प्रतिनिधि पुगे भने, स्वच्छता होइन भ्रष्ट मानिस पुगे भने हामी संसद्मा बहुमत ल्याएर भए पनि जनताको अपेक्षा पुरा गर्छौँ ।

प्रतिगमनकारी दललाई हराएरै छाड्ने कसरतमा लागेको सत्तापक्षीय गठबन्धनमा राप्रपालाई समावेश गरेपछि दमक नगरपालिकामा राप्रपालाई प्रमुख पद दिन सक्ने आंकलन गरिएको छ । गठबन्धन दलमा नेकपा माओवादीको भागमा परेको दमक नगरपालिका गठबन्धनमा आएमा राप्रपालाई दिन सकिने गठबन्धन दलका एक नेताले बताए । नेकपा माओवादी केन्द्रका झापा संयोजक राजु आचार्य (अग्नी) का अनुसार दलहरु बिच छलफल भइरहेको छ । झापाका नौ वटा पालिकामा सहमति भइसकेको र बाँकी पालिकाको बिषयमा छलफल चलिरहेको उनले जानकारी दिए । मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, कचनकवल, कनकाई, कमल, गौरादह लगायत पालिकाहरुमा उम्मेदवारी भागबण्डा टुङ्गिसकेको आचार्यले बताए । 

२०७४ सालको स्थानीय निर्वाचनमा दमकका १० वटा वडामध्ये एमाले एक्लैले ८ वटा जितेको थियो । बाँकी दुईवटा वडामा २ राप्रपाले जितेको छ । नगर प्रमुख पदमा एमालेका रोमनाथ ओलीले १० हजार ८ सय ६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकै राम थापाले ७ हजार ६ सय ५५ मत ल्याएका थिए । तेस्रो स्थान ल्याएको माओवादीका उम्मेदवार रेवतराज पुरीले ६ हजार ८ सय ९८ मत ल्याउँदा काँग्रेसका ढुण्डीराज भण्डारीले भने ५ हजार ५ सय ३९ मत ल्याएका थिए ।

सबै वडाको मत जोडेर हेर्दा दमकमा एमाले ११ हजार ८ सय ८४ सहित पहिलो, ६ हजार ५ सय ६० मतसहित काँग्रेस दोस्रो, ५ हजार ७ सय ७१ सहित राप्रपा तेस्रो र ४ हजार ५ सय १७ मतसहित माओवादी केन्द्र चौथो स्थानमा छ ।

सम्बन्धित समाचार