माओवादीमै फर्किए पूर्व गाविस अध्यक्ष पोखरेल
बिर्तामोड । झापाको बिर्तामोड निवासी नन्दी केशर पोखरेल नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । पोखरेल २०४८ सालका धनुषाको यज्ञभूमी गाविसका निर्वाचित अध्यक्ष हुन् । मधेश आन्दोलनपश्चात बिर्तामोडमा बसोबास गरिरहेका पोखरेल नेकपा हुनुपूर्व नेकपा एमालेको बिर्तामोड नगर कमिटि सदस्य थिए ।
नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटिले आयोजना गरेको नगर स्तरीय वृहत प्रशिक्षण भेलामा कार्यक्रमका प्रमुख अतिथी माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा वाइसीएल इञ्चार्ज रामप्रसाद सापकोटा (दिपशिखा) र झापा संयोजक राजु आचार्य (अग्नी) ले पोखरेललाई अविर लगाएर पार्टीमा स्वागत गरेका थिए ।
पाँचथर आङसराङ ६ का पाखरेल २०३३ सालबाट बामपन्थी आन्दोलनमा होमिएका थिए । त्यतिबेला त्यहाँका पञ्चायतका हिमायतीहरुसँग टकराव बढेपछि २०४१ सालमा धनुषातर्फ लागेको उनले बताए । मातृका यादवहरुसँगै काम गरेका पाखरेल मधेशवादी आन्दोलन उत्कर्षमा पुगेपछि त्यहाँ बस्न नसकेर झापा आएको बताउँछन् । उनका अनुसार मधेशवादी आन्दोलन शुरु भएपछि पहाडे समुदायका मानिसहरुमाथि भएको ज्यादतीको प्रतिकार गर्न बनेको चुरे भावर प्रतिकार समिति धनुषाको संयोजकको रुपमा काम गरे । तर, आन्दोलन उत्कर्षमा पुगेपछि मधेसमा बस्न नसकेर २०६८ सालदेखि बिर्तामोड ४ मा बसोबास गर्दै आएको पोखरेलले बताए ।
झापा आएदेखि एमालेको समर्थक बनेका पोखरेललाई नेकपा एमालेले २०७४ तिर बिर्तामोड नगर कमिटि सदस्य बनाएको र पछि नेकपा बनेपछि नगर कमिटिबाट आफ्नो नाम हटेको उनले बताए । त्यसयता कुनै पार्टी कमिटिमा नबसी सामाजिक काममा सक्रिय पोखरेल पुनः आफ्नै घर फर्किएको बताउँछन् ।