एमाले इलाममा भूकम्प, नगर अध्यक्षसहित २२ जनाद्वारा राजिनामा
इलाम । स्थानीय तह निर्वाचनमा लोकप्रिय व्यक्तिलाई उम्मेद्वार नबनाईएको भन्दै नेकपा एमाले इलाम नगर कमिटिमा असन्तुष्टि चुलिएको छ । इलाम नगरपालिकाको प्रमुख पदमा नरेन्द्रनाथ भट्टराईको नाम सिफारिस गरेको भन्दै नगर कमिटी अध्यक्ष तिलक ठकुरीसहित २२ जनाले सामूहिक राजिनामा दिएका हुन् ।
नगर अध्यक्ष ठकुरीसहित उपाध्यक्ष दिपेन्द्र चापागाई, नगर प्रवक्तासमेत रहेका नगर सचिव ठाकुर नारायण श्रेष्ठ, उपसचिव चित्रमाया गुरुङ लगायतले सामूहिक राजिनामा दिएका हुन् । नगर कमिटी र जिल्ला कमिटीले प्राथमिकताको क्रम तोकेर तीन जनाको नाम सिफारिस गरेको थियो । जिल्ला कमिटीले धिरेन चेम्जोङ्गको नाम एक नम्बर प्राथमिकताको क्रममा राखेर सिफारिस गरेको थियो । दुई नम्बरमा कृष्ण श्रेष्ठको र तीन नम्बरमा नरेन्द्रनाथ भट्टराईको नाम सिफारिस गरिएको एमाले इलामले जनाएको छ ।
नगरमा चेम्जोङ्गको माहौल भएको र जिल्ला कमिटीले पनि १ नम्बर प्राथमिकताको क्रम तोकेर पठाए पनि ३ नम्बरमा रहेको भट्टराईको नाम सिफारिस भएकाले नगर कमिटीले सामुहिक राजिनामा दिएको बताइएको छ । भट्टराईको माहौल नभएकाले उनलाई चुनावी अभियानमा लिएर जान नसकिने भन्दै सामुहिक राजिनामा दिएका हुन् । जित्ने उम्मेद्वारलाई षड्यन्त्रपूर्वक पाखा लगाउने काम भएकोभन्दै नगरकमिटीले आपत्ति जनाएको हो ।
नेकपा एमालेका पुराना तथा बौद्धिक नेता भट्टराई बिचमा केहि समय माओवादीमा गएका कारण उनलाई गलत दृष्टिकोणबाट एउटा पक्षले गलत व्याख्या गर्ने गरेको उनी निकट कार्यकर्ताहरु बताउँछन् । त्यहि दृष्टिकोण राख्नेहरुले उनको उम्मेदवारीमा विरोध गरेको एक नेताले बताए ।
सामूहिक राजिनामा सँगै युवाहरुले शनिबार साँझ नै एमाले जिल्ला कमिटीको कार्यालयमा ताला लगाएका छन् । सामाजिक सञ्जालमा नगरमा माहोल नभएको व्यक्तिलाई प्रमुखको टिकट दिइएको भन्दै उनीहरुले ताला लगाएका हुन् ।
हेर्नुहोस राजिनामा :

