२०८३ बैशाख ६ गते , आईतबार

ठूला दलका प्रचार फिजिकलदेखि डिजिटलसम्म, साना दलका आफ्नै दुःख

sajilo news
पुष्प खड्का
२०७९ बैशाख २४ गते , शनिबार
ठूला दलका प्रचार फिजिकलदेखि डिजिटलसम्म, साना दलका आफ्नै दुःख

बिर्तामोड । आसन्न स्थानीय तह निर्वाचनका लागि दलहरुले प्रचारप्रसारलाई तीब्र बनाएका छन् । दल तथा उम्मेदवारहरुले आफ्ना प्रतिबद्धताहरु मतदातासम्म पुर्याउन विभिन्न प्रचारका माध्यम अपनाउँदै आएका छन् । पछिल्लो समय दलहरुले प्रचारका लागि प्रविधिको प्रयोगमा समेत जोड दिएका छन् । उनीहरुले घरदैलोसँगसँगै फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्स एप, बल्क म्यासेज आदिको माध्यमबाट आफ्ना कुरा मतदाता समक्ष पुर्याइरहेको पाइएको छ ।

झापाका ठूला दलहरुले बाजागाजासहित मतदाताको घरदैलो गरिरहेका छन् । अटो रिक्सा, सिटी सफारीमा आफ्ना नाराहरु समेटेर गीतको माध्यमबाट उनीहरुले टोलटोलमा मतदातालाई सुनाई रहेका छन् । त्यतिमात्र नभएर ठूला गाडीमा साउण्ड सिस्टम नै लिएर चोक चोकमा कोणसभासमेत गरिरहेका छन् । मतदाताको फोटो प्रिण्ट भएका फ्लेक्स गाडीमा टाँसेरसमेत प्रचारप्रसार गरिरहेका छन् । चर्को आवाजमा गीत बजाउँदै गल्लीगल्लीमा सवारीका साधन कुदाउँदा कतिपयले भने ननिको महशुस समेत गर्ने गरेका छन् ।

उम्मेदवारहरुले प्रिन्टेड डकुमेन्टको समेत अत्याधिक प्रयोग गरिरहेका छन् । उम्मेदवारको फोटो, चुनाव चिन्हसहित अपिलहरु मतदाताको हात हातमा पुर्याइरहेका छन् । निर्वाचन आयोगले यस पटक चुनाव चिन्ह अंकित टोपी, भेष्ट, झोलालगायतका सामाग्री वितरणमा कडाई गरेपनि यदाकदा त्यस्ता सामाग्रीको प्रयोग भएको देखिन्छ ।

दलहरुले डिजिटल प्रविधिको प्रयोगलाई समेत व्यापक बनाइरहेका छन् । दलहरुले ‘जिताउ अभियान’ नाम दिएर फेसबुक पेजको व्यापक प्रयोग गरेका छन् । आफ्ना प्रतिबद्धता, अन्तरवार्ता, फोटो लगायतका सामाग्री लक्षित क्षेत्र र उमेर समूहका मतदातासमक्ष पेज बुष्ट गरेर पुर्याइरहेका छन् । अघिल्लो निर्वाचनमा सिमित मात्रामा देखिएको प्रचारप्रसारको यो शैली यस पटक भने व्यापक भएको पाइन्छ ।

दल तथा उम्मेदवारहरुले मिडिया कभरेजलाई समेत व्यापक बनाएका छन् । आ–आफ्ना मिडिया डेस्क नै चलाएर समाचारहरु बनाइरहेका छन् । कतिपय दलले विज्ञापनसमेत प्रकाशन÷प्रसारण गरिरहेका छन् ।

प्रचारप्रसारमा साना दलहरु आफ्नै पीडामा गुज्रिरहेको पाइयो । ठूला दलको प्रचार टोलीमा दर्जनौँ शुभेच्छुक मतदाता, कार्यकर्ता तथा नेताहरु सहभागी भएका छन् भने साना दलका उम्मेदवारहरु आफ्ना दुईचार निकटका साथ मात्र मत माग्न हिडिरहेको देखिन्छ । बिर्तामोड वडा नम्बर पाँचको एक उम्मेदवारले मेरो निकटका कोहि छैनन्, अरु ल्याउनपनि सक्दिन खुवाउनपनि सक्दिन, भोट दिए दिउन् नदिए नदिउन् भनेको सुन्दा उनीहरुको आफ्नै पिडा भएको बुझ्न गाह्रो छैन । घरदैलो अभियानमा कोहि नजुटेको भन्दै उम्मेदवारहरु एक आपसमा बाझाबाझ कै अवस्थामा पुगेको पाइयो । प्रचारप्रसारका लागि खर्च अभाव नै उनीहरुका लागि पीडाको बिषय हो । अरु दलमा दर्जनौँ कार्यकर्ता घरदैलोमा हिडेको देखेर साना दलका उम्मेदवार त्यसै खिन्न मन बनाएर हिडेको समेत पाइयो ।

दलहरुमा प्रचारमा जति बाक्लो उपस्थिती देखाउन सकिन्छ त्यति मतदातालाई उत्साहित बनाउन सकिन्छ भन्ने मनोविज्ञान विकास भएको देखिन्छ । त्यसैले उनीहरु फिजिकलदेखि डिजिटलसम्म प्रचारप्रसारलाई जोड दिइरहेका छन् । 

 

सम्बन्धित समाचार