कस्ता छन् बिर्तामोडका उपप्रमुख पदका उम्मेदवार सिग्देलका नगर विकासका अवधारणा ?
झापाको बिर्तामोड नगरपालिकामा उपप्रमुख पदमा ९ जनाको उम्मेदवारी परेको छ । उनीहरु मध्येका एक हुन तीर्थराज सिग्देल । नेकपा एकिकृत समाजवादीको तर्फबाट उपप्रमुख पदमा उम्मेदवारी दिएका सिग्देल बिर्तामोड १ मा बसोबास गर्छन् । अढाई दशक पत्रकारितामा बिताएका सिग्देल प्रेस चौतारी नेपालको चार कार्यकाल केन्द्रीय सदस्य भएका थिए । हाल नेकपा एकिकृत समाजवादी पार्टीका झापा जिल्ला सदस्य तथा प्रचार विभाग प्रमुख सिग्देल पार्टीका केन्द्रीय प्रचार विभाग सदस्य समेत हुन् ।
२०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागी हुँदै राजनीतिमा आफूलाई अग्रसर गराएका सिग्देल २०४७ देखि २०४९ सम्म एमाले निकट अनेरास्ववियु दमक बहुमुखी क्याम्पसको प्रारम्भिक कमिटीमा सक्रिय रहे । २०५१ सालदेखि पत्रकारितालाई पेशाको रुपमा अंगालेका सिग्देलले करिब २८ बर्ष पत्रकारितामा बिताए । उनका विभिन्न विधाका ५ वटा पुस्तक प्रकाशित छन् ।
लामो समय पत्रकारितामा रहेर समाजका विभिन्न आयामलाई नजिकबाट नियालेका सिग्देलले ‘समृद्ध बिर्तामोडको आधार शिक्षा, स्वास्थ्य र व्यवसायीक नगर’ भन्ने नारा अगाडी सारेका छन् । त्यहि नारालाई पूरा गर्न उनले थुप्रै अवधारणा विकास गरेका छन् ।
पूर्वकै एउटा व्यापारिक केन्द्रको रुपमा विकसित हुँदै विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको बिर्तामोड अनेकन विशेषतायुक्त भएको सिग्देल बताउँछन् । यस नगरलाई खास गरेर शिक्षा, स्वास्थ्य, उद्योग, व्यवसाय र होटल व्यवसायको उपयुक्त केन्द्रको रुपमा विकास गर्ने उनको लक्ष्य छ । आफ्नो नगरप्रति गौरव गर्ने वातावरण सिर्जना गर्ने र ‘मेरो नगर मेरो गौरव’ भन्ने सोचलाई अगाडि बढाउने योजना रहेको उनी बताउँछन् ।
सिग्देलका अनुसार सहर सभ्यता हो भन्ने कुरालाई आत्मसात गरेर यहाँका नागरिकसँग हातेमालो गरेर अगाडि बढ्ने र विकासलाई कतै थोपर्ने र कतै अभाव हुने स्थितिको अन्त्य गर्ने अभियान रहनेछ । बिर्तामोड नगरलाई वाणिज्य, शिक्षा र स्वास्थ्यको हब बनाएर लैजानका लागि निम्न अवधारणा उनले अगाडि सारेका छन् :
बिर्तामोडलाई एउटा भरपर्दो र वाणिज्य केन्द्रको रुपमा विकास गर्न मुक्ति चोकको ५ सय मिटर क्षेत्रमा सडक सफा राख्ने र सबै बाटो पीच वा पेवर्स लगाएर सुन्दर, आकर्षक बनाउने र ब्यूटिफिकेसन गर्ने । त्यसका लागि व्यापारीहरुको सहभागितामा एउटा समिति बनाउने र काम गने । बिर्तामोडलाई वाणिज्य हबको रुपमा विकसित गर्ने । आफ्नो क्षेत्रका उत्पादनलाई प्रोत्साहन गर्न लोगो प्रदान गर्ने र यस क्षेत्रका व्यवसायीहरुले लगानी गरी उत्पादन गरेका वस्तुहरुलाई ‘अ प्रोडक्ट अफ बिर्तामोड’ भनेर ब्रान्डिङ गर्ने । सहकारी संस्थाहरु, गैर सरकारी संस्था र बैंक तथा वित्तीय संस्थाहरुलाई विकासको साझेदार संस्थाको रुपमा लिँदै साझेदारीमा कार्य गर्ने ।
बिर्तामोडमा १८ वटा सरकारी विद्यालय, ६० भन्दा बढी निजी विद्यालय छन् । कलेजहरु, विभिन्न नीजि प्राविधिक कलेज र स्कुलहरु छन् । यो संख्या र अवस्थालाई हेर्दा बिर्तामोडलाई शिक्षा क्षेत्रको हब मान्न सकिन्छ । यस क्षेत्रको प्रबर्धन र विकास गर्न शैक्षिक विकास प्रतिष्ठान गठन गरेर जान सकिन्छ । त्यो क्षेत्रका समस्या हल गरेर उन्नत शैक्षिक गुणस्तर कायम राख्न सोही क्षेत्रसँग समन्वय गरेर काम गर्ने । स्थानीय पाठ्यक्रमलाई समयानुकूल परिमार्जन गर्ने ।
स्वास्थ्य क्षेत्रमा पनि बिर्तामोड अग्रणी छ । मेडिकल कलेज, आँखा अस्पतालहरु, निजी स्तरबाट खुलेका अस्पतालहरुले यहाँको सेवा प्रवाहसँगै आर्थिकस्तर मात्र बढाएका छैनन्, चहलपहल र गुणात्मकतालाई पनि बृद्धि गरेका छन् । तसर्थ बिर्तामोडलाई स्वास्थ्य क्षेत्रको हब बनाउने वातावरण बनाउने । बिर्तामोडको नगर अस्पताललाई स्तरीय बनाउने र रेफरल सेन्टर बनाउन पहल गर्ने ।
शहर र ग्रामीण बस्तीलाई फरक फरक प्रकृतिको विकासको वितरण प्रणाली अवलम्बन गर्ने । यहाँका वडाहरु १, २, ३, ४, ५, ६ लाई शहरको रुपमा विकास गर्ने र ७, ८, ९ र १० लाई कृषि तथा पशुपालन क्षेत्रको रुपमा अगाडि बढाउन मद्दत गर्ने । शहरभित्र अपार्टमेन्ट, मिनी मार्केट र डिपार्टमेन्ट स्टोर खोल्न सहजीकरण गर्ने र रात्रीकालीन बजार चलाउन सहयोग गर्ने ।
बिर्तामोड एउटा राजनीतिक केन्द्र हो । तसर्थ यहाँको कुनै स्थानमा खुल्ला मञ्चका लागि जग्गाको खोजी गर्ने र निर्माण गर्ने ।
बिर्तामोडमा रहेका पर्यटकीय स्थलहरुलाई जोड्न सर्किट बनाउने र होम स्टेहरु बनाउने । सन्थाल, राजवंशी र अन्य इच्छुक समुदायलाई यस कार्यमा प्रेरित गर्ने । बिर्तामोड प्रवेश गर्ने चारैतिरका नाकाहरुमा आकर्षक बिर्तामोडको पहिचान झल्कने चित्र अङ्कित स्वागत गेट निर्माण गर्ने ।
होटल तथा पर्यटन केन्द्रहरुलाई उत्प्रेरित गर्दै प्रत्येक होटलबाट एउटा कोठा लागे बराबर १ सय रुपैयाँ संकलन गरेर पर्यटन क्षेत्रको विकासमा खर्च गर्ने एउटा प्रणाली वा संयन्त्र बनाउने ।
भौतिक विकासका लागि तोक वा भनसुनका आधारमा चल्ने प्रणालीको अन्त्य गर्ने । आवश्यकताको आधारमा समान वितरण प्रणाली अवलम्बन गर्ने । कार्यकर्ता पोेस्ने वा झोला बोकेर नगरपालिका वा अन्य निकायमा धाउनु पर्ने र त्यसैबाट जीविका चलाउने गलत प्रवृत्तिलाई निरुत्साहित गर्ने ।
बिर्तामोडको कृषि थोक बजार स्थललाई स्तरीकरण गरेर त्यसको वरपर हुने यातायातको जाम हटाउन छेउछाऊमा रहेका गोदामघर हटाउने र वरिपरिका बाटामा चार चक्केभन्दा ठुला गाडी प्रवेश निषेध गर्ने । अझ त्यस्ता गोदामघरहरुलाई मुक्तिचोक भन्दा ५ सय मिटर पर लैजाने वातावरण बनाउने ।
बिर्तामोड सञ्चारक्षेत्रको पनि हब हो, जसलाई व्यवस्थित र नियमित गर्न वार्षिक बजेट विनियोजन गर्ने । यहाँका जाति, जनजाति, भाषा, संस्कृति, साहित्य क्षेत्रको प्रबद्र्धन र विकास गर्न बिर्तामोड प्रज्ञा प्रतिष्ठान गठन गरेर काम गर्ने ।
सहरको सौन्दर्यता झल्काउन टोल विकास समितिहरुसँग समन्वय गरेर घरहरुमा एकै प्रकारका रङ लगाउन सहयोग गर्ने र प्रत्येक टोलमा कम्तिमा एउटा टोलको पहिचान झल्कने आकृति वा चिन्ह राख्न प्रेरित गर्ने ।
कनकाईको सिमानादेखि मेचीनगरको सिमानासम्म र अर्जुनधाराको सिमानादेखि भद्रपुरको सीमासम्म सडकको दुई किनारमा ठूलाठूला सडक बत्ती राख्ने जसका कारण रात्रीकालिन समयमा सवारी साधन सञ्चालन गर्न सहज हुने र दुर्घटना रोक्न सहज हुनेछ ।
यहाँ बसोबास गर्ने जात, जातिका र अन्य सांस्कृतिक पर्व लगायत कुनै समूहले सडक उत्सव, पर्यटन केन्द्रित कार्यक्रम गर्न चाहेमा आव्हान गर्ने र उनीहरुलाई निश्चित बजेट विनियोजन गर्ने ।
डोमालाल रंगशालाको स्वामित्व ग्रहण गराउन पहल गर्ने र रंगशाला बनाउन थप बजेटको व्यवस्थापन गर्न मद्दत गर्ने । साथै खेलकुद विकास समितिलाई जिम्मेवार बनाई तालिका बनाएर गतिविधि गर्न लगाउने ।
खोलानाला भनेका हाम्रा धरोहर हुन् । यहाँ रहेका अदुवा, रेखा, देउनियालगायतका खोला नालाहरुको संरक्षण, सम्बद्र्धन गर्न विशेष पहल गर्ने । अदुवा खोलालाई सफा राख्न विशेष कार्ययोजना अगाडि बढाउने ।
शहरका १० स्थानमा रहेका सरकारी जमीनमा पार्क निर्माण गर्न सहयोग गर्ने । ती स्थानलाई स्वास्थ्य पार्कको रुपमा विकसित गर्ने ।
महिला, अल्पसंख्यक र आदिवासी, जनजाति, दलित, अपाङ्ग र पछाडि पारिएको समुदायलाई उत्प्रेरित गर्ने कामको कार्ययोजना पेश गर्न सोही समुदायसँग माग गरेर जाने ।
फोहोर मैलाको समुचित व्यवस्थापनका लागि हाल भइरहेको कार्य पर्याप्त छैन, यसलाई नगरले आफै समाधान गर्ने ।
बिर्तामोड नगरका सार्वजनिक स्थानहरुमा स्मार्ट सार्वजनिक शौचालयहरुको निर्माण गरिनेछ ।
सुकुम्बासी समस्याको समाधान गर्न भूमि आयोगसँग मिलेर काम गर्ने ।
कार्यकाल भित्रमा बिर्तामोडमा घर भई विश्वभर रहेका नेपालीहरुलाई निमन्त्रणा गरेर बिर्तामोड विश्व सम्मेलन गर्ने र लगानी भितर््याउने वातावरण बनाउने ।
आपतमा नगर, विपदमा नगर अभियान चलाइनेछ । यसका लागि नगर प्रहरी, बारुण यन्त्रसँगै क्विक भोलेन्टियर ग्रुप निर्माण गरेर परिचालन गर्ने ।
युवा पलायनको दर घटाउन युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने ।