इलाममा दोहोर्याउने मध्ये तीन जना निवर्तमान अध्यक्ष पराजित
इलाम । इलाम जिल्लाका १० वटा पालिका प्रमुखमा पाँच जना निवर्तमान अध्यक्ष/प्रमुखहरु पुनः उम्मेदवार बनेका छन् । सन्दकपुर गाउँपालिका, माङसेबुङ गाउँपालिका र माइजोगमाई गाउँपालिकाका अध्यक्ष तथा देउमाई नगरपालिका र सूर्योदय नगरपालिकाका प्रमुखहरु यस पटकपनि उम्मेदवार बनेका छन् । ती मध्ये सात पालिकाको नतिजा आइसक्दा दोहोर्याएर उम्मेदवार बन्ने तीन पालिकाका अध्यक्षहरु पराजित भएका छन् ।
सन्दकपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष उदयबहादुर राई यसपटक पराजित बनेका छन् । राईलाई नेपाली कांग्रेसका तुलाराम गुरुङले पराजित गरेका हुन । गुरुङले ४२२३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार राईले ३२५८ मत प्राप्त गरेका छन् ।
माइजोगमाई गाउँपालिकाका निवर्तमान अध्यक्ष नेकपा एकिकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईलाई नेकपा एमालेका उम्मेदवार कुशबहादुर थेवेले पराजित गरे । थेबेले ५१३५ मत प्राप्त गर्दा राईले ४४९१३ मत मात्र प्राप् गरेका छन् ।
माङ्सेबुङ गाउँपालिकाका निवर्तमान अध्यक्ष डिकेन्द्र इदिङगोपनि पराजित भए । उनलाई नेकपा एमालेका हेमन्त राईले पराजित गरेका हुन । राईले ३८१८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका इदिङगोले ३४९५ मत प्राप्त गरेका छन् ।
यता नगरप्रमुखमा दोहोरयाएर उम्मेदवार बनेका सूर्योदय नगरपालिकाका रणबहादुर राई र देउमाई नगरपालिकाका सूर्यप्रसाद पोखरेलको नतिजा भने आउन बाँकी छ ।
इलामको १० मध्ये सात पालिकाको नतिजा आइसकेको छ । रोङ गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका मनिकुमार स्याङबो विजयी भएका छन् । उनले ४६७९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार मेहरमान तामाङले ४३२२ मत प्राप्त गरेका छन् । उपप्रमुखमा भने नेकपा एमालेकी विष्णुमाया खवास विजयी भइन् ।
इलाम नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार केदार थापा नगरप्रमुखमा विजयी भए । थापाले १३१६५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका धिरेनकुमार चेम्जोङले १०५८७ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेपाली कांग्रेसकै विष्णुकुमारी लिम्बू विजयी भइन् ।
इलाम नगरपालिकामा नेकपा एमालेले अन्तिम अवस्थामा नगर प्रमुखको उम्मेदवार परिवर्तन गरेको थियो । पार्टीले नरेन्द्रनाथ भट्टराईलाई उम्मेदवार बनाएपनि नगर कमिटिका अध्यक्ष तिलक ठकुरीसहित २२ जनाले जनमत नभएका भट्टराईलाई उम्मेदवार बनाएको भन्दै सामूहिक राजिनामा दिएका थिए । अन्ततः चेम्जोङपनि विजयी हुन सकेनन् ।
चुलाचुली गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केरुङ विजयी बने । उनले ६६५० मतसहित विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका ओमनारायण खनालले ३७५५ मत मात्र प्राप्त गरे । उपाध्यक्षमा भने नेकपा एमालेकी दिलकुमारी लिम्बू (योङहाङ) विजयी बनिन् ।
यता माइ नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार खम्बसिं लिम्बू नगरप्रमुखमा विजयी भए । उनले ८१३२ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी नेकपा माओवादीका धनकुमार लिम्बूले ६५१५ मत प्राप्त गरे । उपाध्यक्षमा नेकपा एमालेकै हिमा भण्डारी विजयी भइन् ।