झापाको दुई पालिका प्रमुखमा महिला चुनिए
बिर्तामोड । स्थानीय तह निर्वाचन २०७९ को मत परिणामबाट झापाको दुई पालिका प्रमुखमा महिला चुनिएका छन् । प्रमुख पदमा १० स्थानीय तहमा महिलाले उम्मेदवारी दिएपनि दुईवटा पालिकाको प्रमुखमा महिला निर्वाचित भएका हुन् ।
बिर्तामोड नगरपालिकाको प्रमुखमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकी पवित्रादेवि महतारा प्रसाई निर्वाचित भएकीछिन् । प्रसाईले नेपाली कांग्रेसका उम्मेदवार भोजराज सिटौलालाई पराजित गरेकी हुन् । प्रसाई निवर्तमान नगर उपप्रमुख हुन् ।
त्यस्तै फुलवति राजवंशी गौरीगञ्ज गाउँपालिकाको प्रमुखमा निर्वाचित भएकीछिन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी राजवंशीले नेकपा एमालेका उम्मेदवार विजयकुमार अग्रवाललाई पराजित गरेकी हुन् ।
गौरीगञ्जको उपाध्यक्षमा पनि महिला नै निर्वाचित भएकीछिन् । नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकी पुजन न्यौपाने कुवँरले नेपाली कांग्रेसका उम्मेदवार मखन महतोलाई पराजित गरेकी हुन् ।
अन्य उम्मेदवारहरु बाह्रदशीमा उन्नत लोकतन्त्र पार्टीकी उमादेवि विक, मेचीनगर नगरपालिकामा मौलिक जरोकिलो पार्टीकी हिरा बास्तोला, अर्जुनधारामा नेपाली कांग्रेसकी रंजिता कार्की, दमकमा नेकपा एमालेकी गिताकुमारी पौडेल अधिकारी, बुद्धशान्तिमा नेकपा एमालेकी मिरा भुर्तेल प्रमुख पदमा पराजित बने । गिताकुमारी पौडेल दमक र मिरा भुर्तेल बुद्धशान्तिका निवर्तमान उपप्रमुख हुन् ।
त्यस्तै झापा गाउँपालिकामा मंगोल नेशनल अर्गनाइजेसनका दुर्गादेवि तामाङ, कन्काइमा मौलिक जरोकिलो पार्टीकी टंका उप्रेती, गौरादहमा स्वतन्त्र उम्मेदवार राधिका धमला, गौरीगञ्जकै अन्य उम्मेदवारहरु नेकपा माओवादीका मेनुका राजवंशी र जनमत पार्टीका कौशिलादेवि महतोपनि प्रमुख पदमा पराजित बने ।