दोहोरो गठबन्धनका बाबजुद कालिकोट र बाँकेको पालिका प्रमुखमा एमाले शुन्य
बिर्तामोड । स्थानीय तह निर्वाचन २०७९ मा कालिकोट र बाँके जिल्लामा नेकपा एमालेले कुनै पालिका प्रमुखमा जित हात प्राप्न गर्न सकेन । कालिकोटमा दोहोरो गठबन्धनका बाबजुदपनि एमालेले सन्तोषजनक नतिजा निकाल्न सकेन ।
कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृह जिल्ला कालिकोटमा काँग्रेसले केही पालिकामा नेकपा माओवादी केन्द्र र केही पालिकामा नेकपा एमालेसँग गठबन्धन गरेको थियो । सत्तारुढ गठबन्धनबीच आपसमा तालमेल गर्ने, नभएमा मित्रवत् प्रतिस्पर्धा गर्ने तर गठबन्धन घटक बाहिर तालमेल नगर्ने सहमति भए पनि काँग्रेसले एमालेसँग समेत यो जिल्लामा तालमेल गरेको थियो । माओवादी केन्द्रले पनि एमालेसँग तालमेल गरेको थियो ।
पलाता गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका विष्णुबहादुर रोकाय २ हजार २९२ मतका साथ अध्यक्षमा निर्वाचित भएका छन् । तिलागुफा नगरपालिकाको प्रमुखमा एमाले र काँग्रेस मिलेर माओवादीलाई पराजित गरे । काँग्रेसका शंकरप्रसाद उपाध्याय २ हजार ९१६ मत ल्याएर प्रमुखमा निर्वाचित भएका छन् । रास्कोट नगरपालिका प्रमुखमा माओवादी केन्द्रका धर्मराज शाही ३ हजार ४७ मतसहित प्रमुखमा विजयी हुँदा एमालेका दयाराम सिम्खाडाले २ हजार ११७ मत प्राप्त गरे ।
शुभकालिका गाउँपालिकाको अध्यक्षमा माओवादीका गोविन्दप्रसाद आचार्यले जितेका छन् । उनले २ हजार ४०९ मत प्राप्त गरेका छन् । महावै गाउँपालिकाको अध्यक्षमा माओवादीका खेमबहादुर सिंह निर्वाचित भएका छन् । उनले २ हजार २७४ मत प्राप्त गरे । उनका निकटमत प्रतिद्वन्द्वी काँग्रेसको मातृका सिंहले १ हजार १३९ मत पाए ।
नरहरीनाथ गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका नगेन्द्रबहादुर विष्टले २ हजार ६३६ मत प्राप्त गरेर विजयी हुँदा नेकपा एकीकृत समाजवादीका धीरबहादुर विष्टले २ हजार ४४५ मत प्राप्त गरे । पचालझरना गाउँपालिका अध्यक्षमा माओवादीका देवराज शाही २ हजार ३६२ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी काँग्रेसका टेकबहादुर बोहोराले १ हजार ७२९ मत प्राप्त गरे । खाडाचक्र नगरपालिकामा यो पटक एमालेको विरासत स्वतन्त्रबाट उम्मेदवार उठेका कमलबहादुर शाहीले भत्काइदिएका छन् । एकीकृत समाजवादीका नेता शाहीले नेताहरुकै सपोर्टमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । शाहीले २ हजार ९१९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जसीप्रसाद पाण्डेले २ हजार ६०९ मत पाए ।
सान्नित्रिवेणी गाउँपालिका अध्यक्षमा पुतली चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका मोहनबहादुर केसीले विजयी प्राप्त गरेका छन् ।
त्यस्तै एमालेले बाँके जिल्लाको पनि पालिकाको प्रमुख जित्न सकेन । विसं २०७४ को निर्वाचनमा चार पालिका र ३१ वडा जितेको एमालेले सबै पालिकामा नेतृत्व गुमाउँदै २१ वडामा मात्र सीमित हुन पुगेको छ ।
आठ पालिका रहेको जिल्लामा नेपाली काँग्रेसले सबैभन्दा बढी पालिका जितेर सबैभन्दा ठूलो दल बनेको छ । काँग्रेसले पाँच पालिकामा प्रमुख÷उपप्रमुख दुवै, दुई पालिकामध्ये एकमा प्रमुख, अर्कोमा उपप्रमुख जित्न सफल भएको छ । जनता समाजवादी पार्टी ९जसपा०ले एक पालिका प्रमुख र दुई उपप्रमुखमा जित निकालेको छ भने नेकपा ९माओवादी केन्द्र०ले एक पालिका प्रमुख जितेको छ ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार जिल्लाको कोहलपुर नगरपालिका, राप्तीसोनारी, डुडुवा, बैजनाथ, जानकी गाउँपालिका तथा नेपालगञ्ज उपमहानगरपालिकामा काँग्रेसले जित निकालेको छ भने खजुरामा माओवादी केन्द्रले जित हासिल गरेको छ । नरैनापुर गाउँपालिकामा जसपा पुनः विजयी भएको छ ।
राप्तीसोनारीको अध्यक्षमा काँग्रेसका तप्त पौडेल र उपाध्यक्षमा पूर्णिमासिंह थारू, डुडुवाको अध्यक्षमा काँग्रेसका नरेन्द्र चौधरी र उपाध्यक्षमा शाहिदा बानो, जानकीको अध्यक्षमा काँग्रेसका छब्बन खाँ, र उपाध्यक्षमा रामप्यारी यादव, बैजनाथको अध्यक्षमा काँग्रेसकै प्रकाश शाह, उपाध्यक्षमा निर्मला रोकाय, नरैनापुरको अध्यक्षमा जसपाका मोहम्मद इश्तियाक अहमद साह र उपाध्यक्षमा जयन्ती श्रीवास्तव, कोहलपुरमा काँग्रेसका पूर्ण आचार्य र उपप्रमुखमा सङ्गीता सुवेदी पौडेल विजयी भएका छन् ।
माओवादी–काँग्रेसको गठबन्धन रहेको खजुराको अध्यक्षमा माओवादीका डम्बर विक तुफान र उपाध्यक्षमा काँग्रेसका मञ्जु मल्ल विजयी भए भने पाँचदलीय गठबन्धन रहेको नेपालगञ्ज उपमहानगरमा गठबन्धनका तर्फबाट प्रमुखका उम्मेदवार काँग्रेसका प्रशान्त विष्ट र उपप्रमुखका उम्मेदवार जसपाका कमरुद्दीन राई विजयी भएका छन् ।