पेट्रोलियम पदार्थमा प्रति लिटर ६३ रुपैँया कर
बिर्तामोड । नेपाल आयल निगमले पेश गरेको पछिल्लो विवरणअनुसार पेट्रोलियम पदार्थमा प्रति लिटर ६३ रुपैँया २३ पैसा कर लाग्दै आएको छ । भारतबाट प्रतिलिटर एक सय १७ रूपैयाँ १८ पैसामा खरिद गरेको पेट्रोलमा कर जोडेर १८० रुपैँयामा बिक्री भइरहेको हो ।
सरकारले पेट्रोलियम पदार्थको खरिदमा सवारी भन्सार करका रूपमा २५ रूपैयाँ २३ पैसा, सडक मर्मतसम्भार शुल्क चार रूपैयाँ, प्रदूषण कर एक रूपैयाँ ५० पैसा लिँदै आएको छ । त्यस्तै पूर्वाधार कर १० रूपैयाँ लिँदै आएको छ । मूल्यअभिवृद्धि कर २० रूपैयाँ ७१ पैसा लाग्ने गरेको छ भने मूल्य स्थिरिकरणको शुल्कअन्तर्गत एक रूपैयाँ ८० पैसा लाग्दै आएको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा चर्को आवाज उठ्न थालेपछि अर्थले उद्योग मन्त्रालयलाई पूर्वाधार कर हटाउन निर्देशन दिएपछि त्यसमध्ये १० रूपैयाँ घट्न सक्ने देखिएको छ ।
अहिलेकै खरिद मूल्यअनुसार हो भने पेट्रोलको प्रतिलिटर मूल्य एक सय ७० रूपैयाँ हुन्छ । तर आयल निगमले अहिले पनि पेट्रोलमा एक अर्ब रूपैयाँ घाटा खाइरहेको जनाएकोछ ।