इलामका दर्शनले गरे नेपालका लागि १ गोल
बिर्तामोड । कुवेतमा जारी एएफसी एसियन कम २०२३ अन्तर्गतको तेस्रो चरणको छनोट खेलमा शनिबार राति भएको खेलमा कुवेत विरुद्ध नेपालले १ गोल गरेको छ । इलामको जमुनामा जन्मिएका नेपालका खेलाडी दर्शन गुरुङले नेपालका लागि १ गोल गरेका हुन् ।
अण्डर १४ बाट फुटबलमा प्रवेश गरेका गुरुङले इलामको माइ भ्याली फुटबल क्लबबाट समेत खेल खेलेका थिए ।
समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाललाई शनिबार राति कुवेतमा भएको खेलमा घरेलु टिमले ४–१ गोलले पराजित र्गयो । यो ४ दशकपछि कुवेत नेपालको पहिलो गोल हो । सन् १९८२ मा भारतको नयाँ दिल्लीमा भएको एसियन गेम्समा नेपालले कुवेतविरुद्ध पहिलो गोल गरेको थियो । उक्त खेलामा समेत कुवेत ३–१ गोल अन्तरले विजयी भएको थियो ।
यसअघि नेपाल पहिलो खेलमा जोर्डनसँग २–० गोलले पराजित भएको थियो । लगातार दोस्रो खेलमा पराजित भएसँगै अब नेपालको एसियन कपमा छनोट हुने सम्भावना लगभग सकिएको छ ।
शनिबार नेपालविरूद्ध घरेलु टिम कुवेतका योसेफ नासेरले दुई गोल गरे। दुवै गोल दोस्रो हाफमा गर्ने क्रममा उनले ४८ र ७० मिनेटमा गोल गरेका थिए ।
त्यसअघि खेलको २८ मिनेटमा फहाद अल रासिदीले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए। कुवेतका लागि चौथो गोल अल फनेहीले ७३ मिनेटमा गरेका थिए ।
दोस्रो हाफमा नेपालका कप्तान नवयुग श्रेष्ठको प्रहार बारमा लाग्दा नेपाल गोल गर्न चुकेको थियो । यद्यपी नेपालका लागि दर्शन गुरुङले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरेका थिए ।
अब नेपालले समूहको अन्तिम खेलमा इन्डोनेसियासँग आगामी मंगलबार राति प्रतिस्पर्धा गर्नेछ ।
समूहको शीर्ष टिम आगामी वर्ष चीनमा हुने एसियन कपमा छनोट हुनेछ । दोस्रो हुने टिमको पनि छनोट हुने सम्भावना हुनेछ ।