यातायात व्यवस्था कार्यालयको राजश्व ७८ करोड बढी
बिर्तामोड । यातायात व्यवस्था कार्यालय बिर्तामोड झापाले चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा ७८ करोड ४० लाख ३५ हजार २ सय अन्ठाउन्न रुपैँया राजश्व संकलन गरेको छ । कार्यालयले सवारी कर, आयकर, लाइसेन्सलगायत आदिबाट सो राजश्व रकम संकलन गरेको हो ।
कार्यालयले चालु आवको ११ महिनाको अवधिमा सवारी कर बापत ५५ करोड ६७ लाख आठ सय तीन रुपैँया राजश्व संकलन गरेको कार्यालय प्रमुख हरि लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार आयकर बापत ३ करोड ४३ लाख २१ हजार ६६६ रुपैँया, लाइसेन्स बापत १७ करोड २६ लाख २ हजार सात सय पन्ध्र रुपैँया र अन्य आम्दानी बापत २० लाख ४१ हजार चौरहत्तर हजार रुपैँया राजश्व संकलन भएको हो ।
यो अवधिमा कार्यालयले १४ हजार ५२७ वटा नयाँ दुई पाङ्ग्रे सवारी साधन दर्ता गरेको छ । यो सँगै मेचीमा दर्ता हुने दुई पाङ्ग्रे सवारीको संख्या १ लाख ४४ हजार १३४ पुगेको कार्यालयले जनाएको छ । चालु आवमा नयाँ चार पाङ्ग्रे सवारी १ हजार २५४ वटा, तीन पाङ्ग्रे २ हजार ३५२ वटा दर्ता भएको छ । हालसम्म चार पाङ्ग्रे १८ हजार ७७५ वटा र तीन पाङ्ग्रे २२ हजार ४७ सहित १ लाख ८४ हजार ९५६ वटा सवारी साधन दर्ता यातायात व्यवस्था कार्यालय बिर्तामोड झापामा दर्ता भएको कार्यालय प्रमुख लामिछानेले बताए ।
त्यस्तै कार्यालयले यो आवमा १३ हजार ६४१ वटा नयाँ, २१ हजार ५९९ वटा नविकरण र ४ हजार ७७२ वटा लाइसेन्सको वर्ग थप गरेको छ । पछिल्लो समय आफ्नै लग इन लिने प्रणाली शुरु भएपश्चात २ हजार ६७४ वटा लाइसेन्सको फाराम दर्ता भएको कार्यालयले जनाएको छ ।