पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आइतबार राति १२ः०० बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमले गरेको मुल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर १९९ र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैँया पुगेको छ ।
निगमले आइतबार राती एक विज्ञप्ति जारी गरी पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा २१ रुपैँयाले वृद्धि गरी प्रतिलिटर १९९ रुपैँया तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा २७ रुपैँयाले वृद्धि गरी प्रतिलिटर १९२ रुपैयाँ कायम गरिएको जनाएको छ ।
त्यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ १९ रुपैँयाले वृद्धि गरी प्रतिलिटर १८५ र हवाई इन्धन (बाह्य) तर्फ अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलो लिटर अमेरिकी डलर १ हजार ६४५ कायम गरिएको जनाएको छ । निगमले एलपी ग्यासको खुद्रा मूल्य भने हाललाई यथावत नै राखिएको जनाएको छ ।