बिर्तामोड उद्योग वाणिज्य संघद्वारा आभार व्यक्त
बिर्तामोड, असार १४ । विर्तामोड उद्योग वाणिज्य संघले वुधबारे हटियामा रहेका व्यवसायीहरुलाई विद्युत उपलब्ध गराउने प्रतिबद्धता जनाएकोप्रति बिर्तामोड नगरपालिकालाई हार्दिक आभारसहित धन्यवाद ज्ञापन गरेको छ । वाणिज्य संघको मंगलबार बसेको बैठकले व्यवसायीको समस्या समाधानका लागि पहल गर्ने सबै पक्षलाई धन्यवाद दिएको हो ।
वाणिज्य संघले वि ज्ञप्तिमार्फत सम्बद्ध सबैप्रति खुशी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेको हो । ‘वाणिज्य संघ वार्ता, सम्बाद र सहमतिमै बिश्वास गर्ने भएकाले व्यवसायीको मागका बिषयमा जग्गादाता, राजनीतिक दल, प्रशासन प्रमुख, नेपाल उद्योग वाणिज्य संघ प्रदेश समिति, जिल्लाभरका सबै उद्योग वाणिज्य संघ, व्यवासयी, सुरक्षाकर्मी, नागरिक समाज, सामाजिक क्षेत्रका अगुवा, सञ्चारकर्मी सबैलाई धन्यवाद ज्ञापन गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ,‘नगरले समस्याको समाधानका लागि गठन गरेको कार्यदलले समस्याको पहिचान गर्दै समाधानका लागि प्रतिबद्धता जनाएकोप्रति कार्यदलका संयोजक उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई विशेष धन्यवाद ज्ञापन गर्दछौँ ।’
संघका अध्यक्ष प्रकाश शिवाकोटीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उज्यालोमा बस्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार भएको भन्दै अव्यवस्थित रुपमा तार लैजाँदा आगलागीको समस्या हुने भएकाले त्यसलाई व्यवस्थित गर्दै विद्युत उपलब्ध गराउने नगरको प्रतिबद्धताले व्यवसायी र नगरको सम्बन्धलाई अझ मजबुद बनाएको महशुस गरेको उल्लेख छ । वाणिज्य संघले बिर्तामोडको विकासमा हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धतापनि व्यक्त गरेको छ ।
हटियामा रहेका व्यवसायीले विद्युत उपलब्ध गराउन माग गर्दै बिर्तामोड नगरपालिकामा आन्दोलन गरेपछि केहिदिन पालिकामा तनाव सिर्जना भएको थियो । समस्या समाधानका लागि नगर उपप्रमुख संग्रौलाको संयोजकत्वमा कार्यदल गठन गरि प्रतिवेदन पेश गर्न भनिएको थियो । मंगलबार पालिकामा कार्यदल, उवा संघका प्रतिनिधी, जग्गादाता, राजनीतिक दलका प्रतिनिधीसमेतको सर्वपक्षीय बैठकले हटियामा भएको मिटरबाट तार व्यवस्थित गरी व्यवसायीलाई विद्युत सुविधा उपलब्ध गराउने सहमति गरेका थिए ।