२०८३ बैशाख ६ गते , आईतबार

बिएण्डसी सहित प्रदेश १ का तीन अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द

sajilo news
परिवेश मिडिया
२०७९ श्रावण २ गते , सोमबार
बिएण्डसी सहित प्रदेश १ का तीन अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द

बिर्तामोड । सरकारबाट भुक्तानी नपाएको भन्दै झापाको बिएण्डसी सहित प्रदेश १ का तीन ठूला अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेका छन् ।
साउन १ गते रातिबाट बिएण्डसीसहित विराटनगरको नोबेल मेडिकल कलेज र मोरङको बुढीगंगामा रहेको विराट मेडिकल कलेजले स्वास्थ्य बिमा कार्यक्रम अन्तरगतका सेवा बन्द गरेका हुन् । तीन वटै अस्पतालले बिमा कार्यक्रम बन्द गरेको सूचना आइतबार नै जारी गरेका छन् । तीन अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत १ अर्ब ४५ करोड रकम भुक्तानी पाउन बाँकी रहेको बताएका छन् ।
बिएण्डसी अस्पतालले यस अघि नै असार १९ देखि नै सेवा बन्द गर्ने बताएपनि सिमित सेवा प्रवाह गर्दै आएको थियो । बिएण्डसीले मात्र सरकारबाट ६० करोड बढी पैसा पाउनु बाँकी रहेको जनाएको छ ।
नोबेल मेडिकल कलेजका अस्पताल निर्देशक डाक्टर राजेश नेपालले सरकारको नीतिका कारण कार्यक्रम स्थगित गरेको बताए । ‘२०७९–८० को बजेट वक्तव्य मार्फत सरकारले स्वास्थ्य बिमा कार्यक्रम २०७९ साउन १ गतेबाट सरकारी र सामुदायीक स्वास्थ्य प्रदायक संस्थाबाट मात्रै उपलब्ध गराउने पारित गरिएको छ,’ नोबेलले जारी गरेको सूचनामा भनिएको छ, ‘त्यसपछि स्वास्थ्य बिमा सूचारु हुने वा नहुने कुनै सूचना प्राप्त नभएकाले अन्योलको परिस्थितिमा यस संस्थाले अर्काे सूचना नभएसम्मका लागि स्वास्थ्य बिमा अन्तरगतको विरामीहरुले प्राप्त गर्दै आउनु भएको आकस्मिक, बहिरङ्ग (ओपीडी) र अन्तरङ्ग सेवाहरु श्रावण १ गते रातको १२ बजेदेखि स्थगन गरिएको छ ।’
सरकारले प्रतिपरिवार वार्षिक ३ हजार ५ सय रुपैयाँ लिएर स्वास्थ्य बिमा गरी परिवारका पाँच जना सदस्यलाई वार्षिक १ लाख रुपैयाँ बराबरको निःशुल्क उपचारको व्यवस्था मिलाउँदै आएको छ ।

सम्बन्धित समाचार