छैठौँ दिनपनि उकालो लाग्यो नेप्से
काठमाण्डौ । नेप्से परिसूचक निरन्तर छैठाैँ कारोबार दिन उकालो लागेको छ। गत साताको मंगलबारदेखि उकालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।
साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १८.०३ अंक बढेर २०२९.४३ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.८३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१५ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार भएको छ। अघिल्लो कारोबार दिन १ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको बजारमा यस दिन २११ स्टकको २३ हजार ३८३ पटकको कारोबारमा १ अर्ब ३१ करोड २९ लाख ६२ हजार रुपैयाँ बराबरको ३१ लाख ४२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन हकप्रद समायोजन भएको बरुण हाइड्रोपावरको शेयर, सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन २७ रुपैयाँ १० पैसा बढेर २९८ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन इमर्जिङ्ग नेपालको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने चन्द्रागिरी हिल्सको शेयरमूल्य यस दिन ६ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन सानिमा लार्ज क्याप फण्ड र कुमारी इक्विटी फण्डको इकाईमूल्य साढे ५ प्रतिशतभन्दा बढी घटेको छ।