बिर्तामोड २ चैतुबारीमा स्वास्थ्य शिविर सम्पन्न
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर-२ चैतुबारीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त आयोजनामा शनिबार शिविर संचालन भएको हो ।
बिएण्डसी अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा औषधी व्यवसायी संघ झापाले निशुल्क औषधी उपलब्ध गराएको वडाध्यक्ष किशोरकुमार पौडेलले जानकारी दिए ।
शिविरमा नाक, कान तथा घाँटी, स्त्री तथा प्रसुति, बालरोग, हाडजोर्नी तथा नशा रोग र जनरल फिजिसियन डाक्टरहरुले सेवा दिएको पौडेलले बताए । शिविरबाट ४७१ जनाले सेवा लिएको उनले जानकारी दिए । पौडेलका अनुसार ब्यवसायी संघले उपलब्ध गराएको करिब पाँच लाखको औषधीमध्ये तीन लाख बढिको वितरण गरिएको र बाँकी औषधी अर्को शिविर आयोजना गरि वितरण गरिने छ ।
स्थानीय पञ्चरत्न माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको स्वास्थ्य शिविरको बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरेकी थिइन् । कार्यक्रममा बोल्दै मेयर प्रसाईले वडाबासीको स्वास्थ्य समस्या हल गर्न शिविर उपयोगी सावित हुने विश्वास व्यक्त गरेकी थिइन् । उनले सहज र सर्वसुलभ स्वास्थ्य सेवा आजको आवश्यकता भएको औँल्याइन् ।
चेतनाकाे अभाव र गरिबीका कारण कतिपय नागरिक स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसकिरहेको भन्दै मेयर प्रसाईले यस्ता नागरिकको स्वास्थ्यमा राज्यले गम्भीर र संवेदनशील बन्नुपर्ने बताइन् ।
कार्यक्रममा नेकपा एमाले प्रदेश १ का इञ्चार्ज देवराज घिमिरे, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख रुगमबहादुर कुँवर, बिएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरी लगायतले बाेलेका थिए ।