बालबालिकामा फैलिने के हो एडिनो भाइरस?
काठमाण्डौ । यो एडिनो भाइरस एक संक्रामक विषाणु हो । विद्यालय जाने र साना उमेरका बालबालिकाहरुमा यो संक्रमण बढी देखिन्छ। यो संक्रमण ठूला व्यक्तिहरुलाई नहुने भन्ने होइन । तर कुल संक्रमितमध्ये किरब ९० प्रतिशत पाँच वर्ष मुनिका बालबालिकाहरु हुने गरेको कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. राजकुमार बिक बताउँछन् ।
हाल देखिएको भाइरल ज्वरो एकदमै छिटो सर्ने गरेको उनले बताए । हाँच्छ्यु गर्दा, खोक्दा, संक्रमितको दिसा, पिसाब वा आँखाबाट निस्कने आँशुबाट पनि संक्रमण एकबाट अर्को सर्ने गर्दछ ।
उनका अनुसार एक तिहाई संक्रमित बिरामीमा मात्र लक्षण देखिन्छ। ती लक्षणहरु हुन् :
– ब्रोङिकयोलाइटिस वा निमोनिया हुने
– धेरै ज्वरो आउने, रुघाखोकी लाग्ने
– फोक्सोमा पानी जम्ने तथा दाग देखिने
– घाँटी दुख्ने
– केहीमा आँखा रातो हुने
– झाडापखाला पनि हुन सक्ने
– एक्कासी रातो पिसाब आउने, पिसाब फेर्दा दुख्ने, छिनछिटमा पिसाब लाग्ने आदि ।
प्रतिरक्षा शक्ति कमजोर भएका बिरामीमा पहिलो एक दिनमा निमोनिया लगायत कडा संक्रमण देखिन सक्ने उनले बताए। यो संक्रमणबाट बच्न सरसफाईमा ध्यान दिनुपर्ने उनले बताए । यस्तो समस्या बालबालिकामा देखिए चिकित्सकलाई देखाएर मात्र औषधी सेवन गराउनु पर्ने उनी बताउँछन् ।