२०८३ आश्विन १७ गते , शनिबार

नेपालबाट करिब ३ अर्बको ‘पेट फुड’ निर्यात

sajilo news
परिवेश मिडिया
२०७९ श्रावण २८ गते , शनिबार
नेपालबाट करिब ३ अर्बको ‘पेट फुड’ निर्यात

काठमाण्डौ । नेपालले एक वर्षमा करिव ३ अर्ब रुपैयाँको पेट फुड (कुकुर र बिरालोको खाना) विभिन्न देशमा पठाएको छ । 

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले २७ देशमा उक्त रकम बराबरको पेट फुड निर्यात गरेको हो ।

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्म नेपालले ती देशमा २ अर्ब ९१ करोड १९ लाख ३९ हजार रुपैयाँको पेट फुड पठाएको विभागले जनाएको छ ।

सो मुल्यमा १७ लाख ४४ हजार ४५१ केजी पेट फुड नेपालले निर्यात गरेको छ ।

ब्राजिल, कम्बोडिया, क्यानडा, चीन, फ्रान्स, जर्मनी, ग्रिस, हङकङ, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, नेदरल्याण्ड्स, फिलिपिन्स, पोल्याण्ड, पोर्चुगल, कतार, सेन्ट हेलेना, सिंगापुर, स्लोभाकिया, दक्षिण अफ्रिका, स्पेन, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, युनाइटेड अरब इमिरेट्स, बेलायत, अमेरिका र भियतनाममा नेपालले पेट फुड पठाउँदै आएको छ ।

नेपालबाट सबैभन्दा ठूलो मात्रामा पेट फुड अमेरिकाले आयात गर्दै आएको छ । विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष मात्र अमेरिकाले नेपालबाट २ अर्ब ४४ करोड ५० लाख ३७ हजार रुपैयाँको पेट फुड आयात गरेको छ ।

गत आर्थिक वर्ष नेपालबाट क्यानडाले ३१ करोड ३५ लाख ५२ हजार रुपैयाँ, कम्बोडियाले १ करोड ४३ लाख ३९ हजार रुपैयाँ, हङकङले १ करोड १९ लाख १३ हजार रुपैयाँ, जापानले ३ करोड ५ लाख ६८ हजार रुपैयाँ, नेदरल्याण्ड्सले १ करोड ९३ लाख ५० हजार रुपैयाँ, सिंगापुरले १ करोड २९ लाख ८५ हजार रुपैयाँ र बेलायतले ३ करोड २८ लाख ५४ हजार रुपैयाँको पेट फुड आयात गरेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७७र७८ मा १ अर्ब ९६ करोड ५० लाख ४६ हजार रुपैयाँको १२ लाख ६२ हजार ९९८ केजी पेट फुड नेपालले निर्यात गरेको थियो ।

 

सम्बन्धित समाचार