जीवन बीमा कम्पनीले आर्जन गरे १ खर्ब ३९ अर्ब
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा करिब एक खर्ब ३९ रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा १९ जीवन बीमा कम्पनीले एक खर्ब ३८ अर्ब ६४ करोड रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ । जुन कुल बीमा शुल्क आर्जनको २९.९० प्रतिशत हो ।
गत आवमा जीवन बीमा कम्पनीको कुल बीमा शुल्क अघिल्लो अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा १४.६३ प्रतिशतले बढेको समितिले जनाएको छ । आव २०७७/७८ मा जीवन बीमा कम्पनीले एक खर्ब २० अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।
कुल बीमा शुल्क संकलनमध्ये प्रथम बीमा शुल्क ४१ अर्ब ४४ करोड ७० लाख रहेको समितिले जनाएको छ । यस्तै नवीकरण बीमा शुल्क ९७ अर्ब १९ करोड ३५ लाख रहेको छ ।
बीमा कम्पनीहरुले असार २०७९ मा मात्रै १७ अर्ब ६७ करोड ४५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जसमध्ये प्रथम बीमा शुल्क ७ अर्ब १० करोड ६० लाख र नवीकरण बीमा शुल्क १० अर्ब ५६ करोड ८६ लाख रहेको छ ।
प्रथम बीमा शुल्क आर्जन गर्ने नयाँ जीवन बीमा कम्पनीमध्ये यूनियन लाइफ पहिलो
गत आर्थिक वर्षमा सबै भन्दा बढी बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले ३५ अर्ब ३८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जसमध्ये नवीकरण बीमा शुल्क २८ अर्ब १ करोड १२ लाख र प्रथम बीमा शुल्क ७ अर्ब ३७ करोड २४ लाख छ ।
कुल बीमा शुल्क संकलनमा दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन १८ अर्ब २२ करोड लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। जसमध्ये प्रथम बीमा शुल्क ३ अर्ब ११ करोड ९२ लाख र नवीकरण बीमा शुल्क १५ अर्ब १० करोड ४१ लाख रहेको छ ।
यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १४ अर्ब ३३ करोड ९७ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ। जसमध्ये प्रथम बीमा शुल्क ४ अर्ब ६८ करोड ३५ लाख र नवीकरण बीमा शुल्क ९ अर्ब ६५ करोड ६२ लाख रहेको छ ।
पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले ८ अर्ब ४७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क ९६ करोड २९ लाख र नवीकरण बीमा शुल्क ७ अर्ब ५१ करोड २५ लाख रहेको छ ।
नयाँ जीवन बीमा कम्पनीको रुपमा लाइसेन्स पाएर २०७४ बाट कारोबार सुरु गरेको युनियन लाइफले एशियन लाइफ, मेट लाइफ, सूर्या लाइफ, प्राइम लाइफ र गुँरास लाइफ इन्स्योरेन्सलाई कुल बीमा शुल्क संकलनमै पछाडि छोडेको छ । कम्पनीको ७ अर्ब ९२ करोड ३९ लाख बीमा शुल्क आर्जन गर्दा २ अर्ब ५१ करोड ९९ लाख प्रथम बीमा शुल्क र ५ अर्ब ४० करोड ४० लाख नवीकरण बीमाशुल्क आर्जन गरेको छ ।
प्रथम बीमा शुल्क आर्जनमा नयाँ जीवन बीमा कम्पनीको रुपमा आएको सिटिजन्स लाइफ चौथो स्थानमा पुगेको छ । कम्पनीको २ अर्ब ८२ करोड ७८ लाख प्रथम बीमा शुल्क र २ अर्ब ६० करोड २७ लाख नवीकरण गरी कुल ५ अर्ब ४३ करोड ५ लाख बीमा शुल्क आर्जन गरेको छ ।
नयाँ जीवन बीमा कम्पनीको रुपमा आएको रिलायवल लाइफ पनि प्रथम बीमा शुल्क आर्जनमा पुराना कम्पनीलाई पछि छोडेको छ । कम्पनीले २ अर्ब ४० करोड २२ लाख प्रथम बीमा शुल्क र १ अर्ब ५४ करोड ७२ लाख नवीकरण सहित २ अब ९४ करोड ९५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
प्रथम बीमा शुल्क आर्जनमा सबैभन्दा पछाडि गुँरास लाइफ इन्स्योरेन्स परेको छ । कम्पनीलाई कान्छो जीवन बीमा कम्पनीको रुपमा लाइसेन्स पाएको महालक्ष्मी लाइफले पछि पारेको छ । महालक्ष्मी लाइफले प्रथम बीमा शुल्क ८५ करोड १३ लाख र नवीकरण बीमा शुल्क ७३ करोड ५६ लाख सहित कुल १ अर्ब ५८ करोड ६९ लाख बीमा शुल्क आर्जन गरेको छ । सबैभन्दा कम कुल बीमा शुल्क आर्जन गर्ने कम्पनी भने महालक्ष्मी लाइफ हो ।
गुराँस लाइफ इन्स्योरेन्सको प्रथम बीमा शुल्क ६४ करोड ८७ लाख र नवीकरण बीमा शुल्क २ अर्ब ४३ करोड १९ लाख सहित कुल ३ अर्ब ८ करोड ६ लाख बीमा शुल्क आर्जन गरेको छ ।