हत्यामा संलग्नद्वारा नै प्रहरीलाई अलर्ट रहन भन्दै फोन सम्पर्क
बिर्तामोड । असोज १७ गते मध्यरातमा झापाको टेकबहादुर गिरी बसपार्कस्थित सुरक्षा अधिकारीलाई फोन आउँछ । फोनमा एक व्यक्तिले आफू इलामतिर लागेको र चाडबाडको समय भएकाले घटना घट्न सक्ने हुँदा अलर्ट रहन आग्रह गर्छन् । उनले फोन गरेको करिब ६ घण्टा पश्चात बसपार्क नजिकैको प्लटिङमा एक पुरुषको शव फेला पर्दछ ।

असोज १८ गते विहान करिब ६ बजे टाउको र नाकमा चोट लागेर मृत्यु भएको अवस्थामा फेला परेको व्यक्तिको साथबाट भेटिएको मोबाइल र पासपोर्टबाट प्रहरीले मृतकको पहिचान गरेको थियो । अघिल्लो दिन दिउँसो करिब २ बजे मृतक सिदिम्बा–४, सुरुमखिम ताप्लेजुङका २५ बर्षीय नबिन्द्र गुरुङ अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित ताप्लेजुङ इलाम होटलमा पुग्छन् । होटलमा बसेर गुरुङ र अन्य केहि मानिस मादक पदार्थ लगायत खानेकुरा खान्छन् । साँझ परेपछि उनीहरु होटलमा तास खेल्न शुरु गर्छन् । २३ बोत्तल बियर खान्छन् । रातको करिब ११ बजेतिर तासमा हारजितको बिषयलाई लिएर उनीहरु बिच झगडा शुरु हुन्छ । उनीहरुको बिचमा करिब १५–२० हजारको हारमार भएको हुन्छ र त्यहि बिषयलाई लिएर शुरु भएको झगडा हत्यासम्म पुग्छ ।
झगडा हुँदा होटलका सञ्चालक, स्टाफ र अन्य एक व्यक्ति मिलेर ढुङ्गाको लोहोरो र धारिलो हतियार प्रयोग गरेर गुरुङलाई प्रहार गर्छन । झगडा कै क्रममा एक व्यक्तिको तल्लो ओठ चुटिएर भुँईमा झर्छ । मध्यरातमा उनी मोटरसाइकलमा अस्पताल गएर ओठको उपचार गराउँछन् र फरार हुन्छन् । होटल सञ्चालक र उनका स्टाफ अचेत अवस्थामा रहेका गुरुङलाई करिब रातको १२ बजे प्लटिङमा छाडेर होटलमा जान्छन् र त्यहाँ लागेको रगत लगायत तास खेलेको स्थान सफा गर्छन । अनि घटनाबाट बिक्षिप्त बनेका होटल सञ्चालकले उल्टै प्रहरीलाई अलर्ट गराउँदै फोन गर्छन् ।
झट्ट सुन्दा कुनै फिल्मको कहानी जस्तो लाग्ने यो बिर्तामोडमा घटेको यथार्थ घटना हो ।
प्रहरीले घटनामा संलग्न ताप्लेजुङ इलाम होटलका सञ्चालक इलाम नगरपालिका–९ का ३८ बर्षीय इन्द्रबहादुर अधिकारी, होटलमा स्टाफको रुपमा कार्यरत फिदिम नगरपालिका–१२ का २१ बर्षीय अमृत आचार्य र आचार्यकी श्रीमती फालेलुङ–७ पाँचथरकी २३ बर्षीया विमला राईलाई प्रहरीले असोज २० गते पक्राउ गरेको छ । अधिकारीलाई होटलबाट, आचार्य र उनकी श्रीमती राईलाई पाँचथरबाट पक्राउ गरी प्रहरीले सोमबार इलाका प्रहरी कार्यालय अनारमनीमा सार्वजनिक गरेको हो ।
पक्राउ परेकाहरुलाई अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको इप्रका अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार घटनामा संलग्न एक जना फरार रहेको र खोजीकार्य भइरहेको छ ।
मृतक गुरुङ ग्रील उघोगमा काम गर्ने र बिर्तामोड क्षेत्रमा बस्दै आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी एक महिना अघि विदेश जान भनी पासपोर्ट बनाउन काठमाण्डौ गएर आएका थिए ।