बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव फागुन ५ देखि
बिर्तामोड । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव फागुन ५ गतेदेखि शुरु हुने भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गरि बिर्तामोड उद्योग वाणिज्य संघले महोत्सव सम्बन्धि जानकारी गराएको हो ।
बिर्तामोड २ को चारपाने र रामचोकको मध्य भागमा हुने महोत्सव फागुन १५ गतेसम्म संचालन हुने महोत्सवका संयोजक बिर्तामोड उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले जानकारी दिए । कोरोना संक्रमणबाट थलिएको ब्यवसायीक क्षेत्रलाई चलायमान बनाउँदै ब्यापारीहरुको मनोबल उच्च बनाउन महोत्सव आयोजना गरिएको न्यौपानेले बताए । उनका अनुसार दोस्रो र तेस्रो मुलुकसँगको निर्यात ब्यापारलाई बढावा दिने, आन्तरिक व्यापारलाई चलायमान गराउने, आन्तरिक पर्यटन प्रवर्धन गर्ने, सांस्कृतिक र ऐतिहासिक महत्वका स्थलहरुको प्रचारप्रसार गर्ने महोत्सवको उद्देश्य रहेको छ ।
महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतीय उद्योगी ब्यवसायीहरुको समेत सहभागिता रहने कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले जानकारी दिए ।
१६ हजार १५० वर्ग मिटर क्षेत्रफलमा आयोजना हुने महोत्सवमा २५० स्टलहरु रहने छन । महोत्सवमा करिब ३ लाख दर्शकले अवलोकन गर्ने र ४५ करोडको कारोबार हुने आयोजकको अनुमान छ ।
महोत्सवको स्टलहरु आधुनिक हुने, लेमिनेटेड पार्टिसन हुने र अक्टोनर्म र डोम डिजाइनको स्टल रहने महोत्सवका ब्यवस्थापक ललित सिंखडाले जानकारी दिए । स्टल दुईवटा ह्यांगर हुने उनको भनाई छ ।
प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बालउद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र गरि महोत्सव स्थललाई चार भागमा विभाजन गरिएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिए । मूल प्रवेशद्वारमा मुक्तिचोकको आकृती राखिने, सेल्फी जोन निर्माण गरिने उनले बताए । महोत्सवमा अटोमोबाइल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल, इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामाग्री, औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन, दैनिक उपभोग्य वस्तुहरु, जुत्ताचप्पल, हस्तकला तथा तयारी पोषाक आदि महोत्सवमा राखिने अध्यक्ष शिवाकोटीले जानकारी दिए ।
बिर्तामोड उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघ र प्रदेश १ सँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको हो । संघले यसअघि २०७५ साल माघ ११ देखि २३ गतेसम्म बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव आयोजना गरेको थियो ।