धुलाबारी माविको विव्यस अध्यक्षमा पाँचौँ पटक गणेशविक्रम नेम्वाङ निर्विरोध निर्वाचित
मेचीनगर । जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालय धुलाबारी माविको विद्यालय व्यवस्थापन समिति सर्वसम्मत चयन भएको छ । विव्यस अध्यक्षमा गणेशविक्रम नेम्वाङ पाँचौँ कार्यकालका लागि निर्विरोध चयन भएका छन् ।
विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा भौतिक उन्नयनमा नेम्वाङले पुर्याएको देनका कारण उनी पाँचौँ पटक अभिभावक भेलाबाट सर्वसम्मत अध्यक्ष चयन भएको विद्यालयले जनाएको छ । विद्यालयका सहायक प्रधानाध्यापक तेजप्रसाद चम्लागाईँले दिएको जानकारी अनुसार सदस्यमा खड्गप्रसाद सिटौला, मुना बाँस्कोटा भेटवाल, सावित्रा ढकाल, शिक्षक प्रतिनिधि धनु भट्टराई र पदेन सदस्यमा मेचीनगर नगरपालिका–१० का वडाध्यक्ष नारायण खनाल चयन भएका छन् । अध्यक्ष नेम्वाङ, सदस्यहरु सिटौला, बाँस्कोटा, ढकाल, भट्टराई र खनालको बिहीबार सम्पन्न भेलाले सामाजिक क्षेत्र तथा शिक्षासेवीको तर्फबाट ऋषिराज तिम्सिना र लक्ष्मीदेवी परियारलाई सदस्यमा मनोनीत गर्दै विव्यासलाई पूर्णता दिएको विद्यालयका सूचना अधिकारी दिपेन्द्र कन्दङ्वाले बताए ।
अभिभावक भेलाले लेखनाथ शर्मा पराजुलीको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ सर्वसम्मत रूपमा चयन गरेको छ । पराजुली पनि पाँचौँ पटक शिक्षक अभिभावक संघको अध्यक्षमा निर्विरोध चयन भएको सूचना अधिकारी कन्दङ्वाले बताए ।
धुलाबारी मावि शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा झापाकै अग्रणी मानिन्छ । प्राविधिक विषयको पढाई हुने धुलाबारी मावि अधिक विद्यार्थी भएको विद्यालय हो ।