मन्त्री सिटौलाद्वारा निर्माणाधिन नागरिक अस्पताल भवनको अवलोकन
बिर्तामोड । प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले बिर्तामोड–४ मा निर्माणाधिन नागरिक अस्पताल भवनको अवलोकन गरेका छन् । नागरिक स्वास्थ्य सहकारी संस्थाले निर्माण गरिरहेको अस्पताल भवनको शुक्रबार विहान मन्त्री सिटौलाले अवलोकन गरेका हुन् ।
अवलोकनका क्रममा अस्पतालका कार्यकारी प्रमुख कृष्ण पौडेलले अस्पतालको बिषयमा जानकारी गराएका थिए । गुणस्तरीय स्वास्थ्य सेवा हरेक नागरिकको पहुँचमा पुर्याउने उद्धेश्यले सहकारीमार्फत अस्पताल निर्माण शुरु गरिएको पौडेलले जानकारी दिए । सुलभ मुल्यमा सेवा दिने र नागरिकलाई आफ्नो अस्पताल हो भन्ने अपनत्व महशुस गराउने ढंगबाट अस्पताल निर्माण भइरहेको उनको भनाई थियो । उनले कोरोना महामारीको समयमा पैसा नहुने नागरिक स्वास्थ्य सेवाबाट बञ्चित भएको कहालीलाग्दो अवस्थाले अस्पताल निर्माणका लागि प्रेरणा मिलेको बताए ।
मन्त्री सिटौलाले शोषित भएको व्यक्तिहरुको उद्वार र शोषण गर्ने व्यक्तिलाई कामले जवाफ दिनका लागि गरिने अभियान सहकारी भएको बताउँदै स्वास्थ्य क्षेत्रमा सहकारीको नितान्त आवश्यकता भएको धारणा व्यक्त गरे । शिक्षा र स्वास्थ्य क्षेत्रलाई सबैको पहुँचमा पुर्याउन सहकारीको माध्यमबाट अगाडी बढाउनु पर्ने मन्त्री सिटौलाले बताए । उनले गरिब जनताको हितमा काम गर्न आग्रह गरे । केहि सहकारीमा बेतिथी आएको भन्दै त्यस्ता सहकारीहरुको नियमन गरिने सिटौलाले बताए । हिजो व्यक्तिले शोषण गर्ने र अहिले संगठित शोषकहरुको समूह केहि सहकारी भएको मन्त्री सिटौलाको टिप्पणी थियो । त्यस्ता नराम्रा काम गर्ने केहि मानिस र संस्थाका कारण राम्रा गर्ने सहकारीहरुलाई समेत असर परेको उनको भनाई छ । उनले निष्पक्षताका लागि हरियो मसी प्रयोग गर्ने केहि लेखा परीक्षकहरुले कागजात मिलाईदिएर फटाई गर्ने गरेको बताए ।
अब सहकारीहरुको नियमनका लागि जिल्लास्थित घरेलु कार्यालयमा सहकारी शाखा राखिने मन्त्री सिटौलाले बताए । उनले प्रदेश सरकारको तर्फबाट स्वास्थ्य सहकारीलाई गर्न सकिने सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
नागरिक स्वास्थ्य सहकारी संस्थाका नवनिर्वाचित अध्यक्ष युवराज दाहालले मन्त्री सिटौलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । अवलोकनका क्रममा सहकारी संस्थाका उपाध्यक्ष डा. प्रमोदकुमार साह, सचिव रविन्द्र भट्टराई, कोषाध्यक्ष जिवनकुमार खड्का, सदस्यहरु शर्मिला शाक्य, राजेश दाहाल, दिपक पोखरेल, आनन्द गुरुङ, लेखा समिति संयोजक नरेन्द्र गुरागाई, सदस्य लक्ष्मीप्रसाद सापकोटा, सल्लाहकार राजकुमार पोखरेल, बिर्तामोड नगरपालिकाका अधिकृत मेघराज बास्तोला, राप्रपाका युवा नेता ध्रुव उप्रेतीलगायत उपस्थित थिए ।