प्रथम भद्रपुर झापा गोल्ड कपको खेल तालिका सार्वजनिक
चन्द्रगढी । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्ड कप २०७९ को खेल तालिका सार्वजनिक भएको छ । फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्ड कपले सोमबार खेल तालिका सार्वजनिक गरेको हो ।
एक संक्षिप्त कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र आयोजक अध्यक्ष दिपेश ढकालले खेल मैदान मेची रंगशाला भद्रपुरमा संयुक्त रुपमा खेल तालिका सार्वजनिक गरे ।
कार्यक्रममा अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम सुब्बा, एसियाली फुटबल महासंघका विकास निर्देशक पुरुषोत्तम कट्टेल, राष्ट्रिय टिमका पूर्वकप्तान हरि खड्का, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकाल, शौर्य एयरलेन्सका अध्यक्ष दिपक पोखरेलको उपस्थिति रहेको थियो ।
आयोजकका अनुसार उद्घाटन खेल आयोजक भद्रपुर ब्लेजर्स र जयगाउँ फुटबल क्लब भारतबीच हुनेछ ।
त्यस्तै, दोस्रो खेल फागुन ८ गते नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबिच हुनेछ । पछिल्लो ‘ए’ डिभिजन लिगमा पुलिस ११औँ स्थान र चर्च ब्वाइज नवप्रवेशी टिम हो ।
भद्रपुर झापा गोल्ड कपको तेस्रो खेल फागुन ९ गते पहिलो खेलको विजेतासँग संकटा क्लबले प्रतिस्पर्धा गर्नेछ । लिगमा संकटा सातौँँ स्थानमा रहेको टोली हो ।
चौथो खेल फागुन १० गते दोस्रो दिनको विजेतासँग मछिन्द्र फुटबल क्लबले खेल्नेछ । मछिन्द्र लिग च्याम्पियन टोली हो ।
प्रतियोगिताअनुसार पाँचौँ खेल फागुन ११ गते त्रिभुवन आर्मी फुटबल क्लबका विरुद्ध भुटानको ड्रुक ल्हायुल फुटबल क्लबले खेल्नेछ । लिगमा आर्मी दोस्रो स्थानको टोली हो ।
भद्रपुर झापा गोल्ड कपमा छैटौँ खेल फागुन १२ गते एपिएफ फुटबल क्लबले बंगलादेश ढाकाको काउवार्न बजार प्रगति संघ एफसीका विरुद्ध प्रतिस्पर्धा गर्नेछ । लिगमा एपिएफ आठौँ स्थानको टोली हो ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल फागुन १३ गते हुनेछ भने दोस्रो सेमिफाइनल खेल फागुन १४ गते हुनेछ । भद्रपुर झापा गोल्ड कपको फाइनल खेल फागुन १६ गते मंगलबार हुनेछ ।
भद्रपुरको मेची रंगशालामा हुने खेलका लागि करिब २० हजार दर्शक बस्न सक्नेगरी स्थायी प्यारापिटको मर्मत, रङरोगन तथा बाँसको अस्थायी प्यारापिट पनि निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ ।
पहिलो संस्करणको भद्रपुर झापा गोल्ड कपको विजेताले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ प्राप्त गर्नेछ । गोल्ड कप सम्पन्न गर्न एक करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र फाइनल खेलको पहिलो गोलकर्तालाई जनही नगद २५ हजार प्रदान गरिनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २० हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।