स्वस्तिका शिशु सदनले मनायो ३८औँ बार्षिकोत्सव
अर्जुनधारा । स्वस्तिका शिशु सदन सेकेण्डरी इङ्ग्लिश स्कुलले ३८औँ बार्षिकोत्सव मनाएको छ । नगर कै सबैभन्दा पुरानो विद्यालय स्वस्तिकाले सोमबार विविध कार्यक्रम गरि बार्षिकोत्सव मनाएको हो ।
बार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले विभिन्न साङ्गितिक प्रस्तुति दिएका थिए । प्रदेशमा नै उत्कृष्ट बन्न सफल स्वस्तिकाका राष्ट्रिय सेवा दलका विद्यार्थीहरुले आफ्नो शो प्रदर्शन गरेका थिए । कक्षा ८ मा अध्ययनरत रक्षा बराल र मिना प्याकुरेलले विद्यालयले एक बर्षमा गरेका कार्य 'रेडियो स्वस्तिकाको स्वस्तिका समाचार' मार्फत प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा वडा नमबर ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले बालबालिकालाई धूम्रपान र मध्यपान बिक्री गर्ने पसललाई कारबाही गर्ने नियम कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गरे । वडा कार्यालयले विद्यार्थी र शिक्षकको स्वास्थ्य परिक्षणका लागि प्राविधिक उपलब्ध गराउने बताए । मानिस स्वस्थ्य भएन भने अस्पतालहरु फस्टाउने बताउँदै सानै उमेरदेखि स्वास्थ्यप्रति सचेत हुनुपर्नेमा उनले जोड दिए । प्रमुख अतिथि उप्रेतीले ब्यवसायिक शिक्षामा जोड दिनुपर्ने धारणा ब्यक्त गरे ।
ट्रष्ट टिम नेपालका संयोजक खिवराज दाहालले कसरी उत्कृष्ट अभिभावक बन्न सकिन्छ भन्ने बारेमा आफ्ना धारणा राखेका थिए । उत्कृष्ट विद्यार्थी बन्न अभिभावक उत्कृष्ट बन्नु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा अर्जुनधारा नगर प्याब्सन अध्यक्ष रुद्रप्रसाद सिटौलाले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिपिन राई, प्रेस क्लब अर्जुनधाराका अध्यक्ष रमेश समदर्शी राई, डिलाइट फुड इन्डष्ट्रीज प्राली कोशी प्रदेश प्रमुख सागर रिजाल, पूर्व शिक्षक लोकनाथ पौडेल, एम्स एकेडेमीका टिआर गौतम, हिमाली एजुकेसन फाउण्डेसनका शान्ता गिरीलगायत अभिभावक तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । विद्यालयका संस्थापक अध्यक्ष इश्वरा श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएकी थिइन ।