जेनेरेटरमा आगलागीहुँदा डायलाइसिस गराइरहेको बिरामीको मृत्यु
सिरहा । प्रादेशिक अस्पताल सिरहाको जेनेरेटरमा आगलागी हुँदा डायलाइसिस गराइरहेका एक जना बिरामीको मृत्यु भएको छ । सिरहाको बरियापट्टी गाउँपालिका खोक्सीका ६५ वर्षीय प्रदीपकुरमा दासको मृत्यु भएको हो ।
डायलाइसिस वार्डको छेउमै राखिएको जेनेरेटरमा आगलागी भएको थियो । उक्त क्रममा डायलाइसिसका लागि रगतको कमी हुँदा रगत चडाइरहेका दासको स्वास्थ्यकर्मीले रगतको पाइप चुँडाएका थिए । क्याप नलगाउँदा अत्यधिक रक्तश्रापका कारण दासको मृत्यु भएको हो । आगलागीपछि उक्त वार्डमा भागाभाग भएको थियो । आगलागीको समयमा उक्त वार्डमा आठ जना बिरामीको डायलाइसिस हुँदै थियो । पहिलेदेखि नै दासले डायलासियस गराइरहेको तथा सिकिस्त रहेका कारण दासको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी अशोक सिंहका अनुसार जेनेरेटरमा डायलाइसिस गराइरहेका बिरामीलाई आकस्मिक उपचार कक्षमा लगिएको थियो । आकस्मिक कक्षमा नै दासको मृत्यु भएको सिंहले बताए । आगलागीपछि अन्य वार्डमा रहेका बिरामीहरुको पनि भागाभाग भएको थियो ।