सञ्चालनको अन्तिम तयारीमा धारागोला भ्यूटावर
बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ७ मा निर्माण भएको भ्यूटावर सञ्चालनका लागि अन्तिम तयारी भइरहेको छ । निर्माण शुरु भएको ७ बर्षपछि आगामी जेठ भित्रमा भ्यूटावर सञ्चालन गर्ने तयारी भइरहेको हो ।
आर्थिक बर्ष २०७१/७२ मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत १२ लाख रुपैँया बिनियोजन गरेर निर्माण शुरु गरिएको भ्यू टावरमा हालसम्म १ करोड १२ लाख रुपैँया खर्च भइसकेको वडाध्यक्ष चन्द्र भण्डारीले जानकारी दिए । चालु आवमा वडा कार्यालयले बिनियोजन गरेको ७ लाख रुपैँयाले कम्पाउण्ड वालमा रंग लगाउने तथा बँगैचा निर्माणको काम भइरहेको उनले बताए ।
भ्यूटावरमा पर्यटन मन्त्रालय, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम, साविक जिल्ला विकास समिति झापा, पर्यटन कार्यालय काँकरभिट्टा, बुद्धशान्ति गाउँपालिका र वडा कार्यालयको बजेट खर्च गरिएको छ ।
चार तलाको उक्त भ्यूटावर सञ्चालनमा नआउँदै सिसाहरु फुटेर यत्रतत्र देख्न सकिन्छ । संरक्षणको अभावमा झ्यालका सिसा फुट्नुका साथै भत्किएर लथालिङ्ग बनेका छन् । कतिपय काम आर्थिक बर्षको अन्त्यमा बजेट सक्न कै लागि गरेको झैँ लाग्दछ । छतको प्लास्टर नगरि बाहिरको सिसा पहिला लगाइएका कारण यतिबेला ती सिसाहरुमा सिमेन्ट लतपतिएर अत्यन्तै फोहोर भएका छन् ।

निर्माण समिति गठन भएपनि ठेकेदार मार्फत काम गराएका कारण शौचालयमा प्रयोग भएका सामाग्री कम गुणस्तरीय रहेको नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीयले बताए ।
वडाध्यक्ष भण्डारीले भ्यूटावर जेठभित्रमा सञ्चालन गर्ने गरी काम तीब्र पारिएको बताए । उनले फुलबारी निर्माणको काम सकिएपछि भ्यूटावर सरसफाई तथा मर्मत गरी सञ्चालन गरिने जानकारी दिए । भ्यूटावरका लागि छुट्टै लाइन व्यवस्था गरिएकाले खानेपानीको अभाव नहुने उनको भनाई छ ।
भ्यूटावरबाट तराईका फाँटहरुको दृश्यावलोकन गर्न सकिन्छ । तराईको फाँट छोडेर उकालो चढेपछि केहि छिन मै पुगिने सो स्थान मनमोहक रहेको छ । पर्याप्त पूर्वाधार विकास हुन सके ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिने सो भ्यूटावरबाट स्थानीय तहले राम्रो आम्दानीसमेत गर्न सक्ने देखिन्छ ।