२०८३ बैशाख ६ गते , आईतबार
ठगी आरोपमा कमल गाउँपालिकाकी हरिकला दाहाल पक्राउ
बिर्तामोड । वैदेशिक रोजगारसम्बन्धि कसुरमा कमल गाउँपालिकाकी हरिकला दाहाल काठमाण्डौबाट पक्राउ परेकीछन् । इजरायल पठाइदिन्छु भनेर लाखौ रकम ठगी गरेको आरोपमा कमल ७ की ३२ बर्षीया दाहाल पक्राउ परेकी हुन् ।
झापाको कमल ७ घर भई काठमाण्डौको कपन बस्दै आएकी दाहालले इजरायलमा निर्माणको काम लगाईदिन्छु भनी ५ जना व्यक्तिहरुबाट ४८ लाख रुपैँया ठगी गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । दिपक दाहाललगायतले वैदेशिक रोजगार विभागमा दिएको उजुरीको आधारमा दाहाललाई पक्राउ गरी उपस्थित गराईदिन विभागले प्रहरीलाई पत्राचार गरेको थियो । प्रहरीले मंगलबार दिउँसो साढे २ बजे दाहाललाई चावहिलबाट पक्राउ गरी वैदेशिक रोजगार विभागको कार्यालय बुद्धनगर काठमाण्डौमा पठाइएको प्रहरीले जनाएको छ ।