निरु पाण्डेको हत्यामा संलग्न भएको आशंकामा झापाबाट एक जना पक्राउ
बिर्तामोड । काठमाण्डौको कपनस्थित सरस्वती नगरमा निरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शनिबार साँझ प्रहरीले झापा धुलाबारीका विनोद विकलाई पक्राउ गरेको हो ।
करिब १३ वर्षदेखि निरु किचेन सञ्चालन गर्दै आएकी आचार्यको वैशाख ७ गते पसलमै हत्या भएको थियो । हत्यामा संलग्न भएको आशंकामा धुलाबारी निवासी विकलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ । आरोपीको विस्तृत विवरण खुलिसकेको छैन । घटनाबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको छ ।
वैशाख ७ मा सामान किनेको पैसा बुझाउन जाँदा एकजना महिलाले काउन्टरमा ३५ वर्षीया निरा रगतपच्छे भएर ढलेको देखेपछि परिवारलाई खबर गरेकी थिइन् । उनको शरीरको २० ठाउँमा चक्कुले हानेर हत्या गरिएको थियो ।
हत्याबारे केन्द्रीय अनुसन्धान ब्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टिमले अनुसन्धान गरेको थियो ।
काठमाडौंको मुटुमा दिनदहाडै भएको विभत्स हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै प्रश्न उठेपछि प्रधान कार्यालयले शुक्रबार एआईजीको नेतृत्वमा समिति बनाएको थियो ।